• १६ चैत २०८०, शुक्रबार

प्रचण्ड र नेपाल वर्तमान गठबन्धनकै पक्षमा

blog

काठमाडौँ, पुस ५ गते । सरकार गठनका लागि दलहरूबीच विभिन्न प्रयास भइरहँदा सत्ता गठबन्धनमा रहेका दुई दलका अध्यक्ष भने अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा देखिनुभएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा देखिनुभएको हो। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सोमबार चितवनमा आयोजित कार्यक्रममा आफू प्रधानमन्त्रीको दौडमा नभएको र गठबन्धनकै निरन्तरताको पक्षमा रहेको स्पष्ट पार्नुभयो। उता नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनकै निरन्तरताको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो। 

प्रेस सेन्टर नेपाल चितवनको आयोजनामा सोमबार भरतपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी सरकार वाम–लोकतान्त्रिक गठबन्धनकै हुनेगरी छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले आफू प्रधानमन्त्रीको रेसमा छु भन्ने बाहिर आएको हल्ला गलत भएको तर प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न प्रस्ताव आयो भने जिम्मेवारी लिन तयार रहेको बताउनुभयो। सरकार निर्माणका लागि दलहरूसँग संवाद भइरहे पनि अहिलेको गठबन्धन दलहरूकै सरकार बन्ने दाबी गर्नुभयो। 

नेकपा (एमाले)सँग सबै दलको कुरा हुँदैमा टुङ्गो भो भन्ने सोच्न नहुने बताउँदै आफू गठबन्धनमा रहेको र गठबन्धन नै अगाडि बढ्ने कुराको विश्वास लिएको बताउनुभयो। सरकार बनाउँदै गर्दा आलोपालो नेतृत्व गर्ने भन्ने सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवासँग अनौपचारिक छलफल भएको पनि उहाँले जनाउनुभयो। नेपालले नयाँ सरकार बनाउने विषयमा आफूहरू गठबन्धनभन्दा दायाँबायाँ नलाग्ने बताउनुभयो। अहिलेको अवस्थामा गठबन्धनलाई त्यागेर अरूतिर लागे आफूहरू घर न घाटको हुने भन्दै उहाँले वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा रहेको स्पष्ट पार्नुभयो। 

नेकपा एसबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभाका सांसदहरूलाई सोमबार बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कस्तो किसिमको सरकार बन्ला भन्ने विषयमा चर्चा परिचर्चा हुनु स्वाभाविक रहेको बताउँदै गठबन्धनभन्दा दायाँबायाँ लागे आफूहरू समस्यामा पर्ने बताउनुभयो। उहाँले अहिले वामपन्थी मात्रैको र गैरवामपन्थी मात्रैको सरकार बन्ने सम्भावना तत्कालका लागि सम्भव नरहेको व्यक्त गर्नुभयो।  कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढाउन आफूले नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाएको बताउनुभयो। 

जनमत पार्टी गठबन्धनको पक्षमा 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू वर्तमान सत्ता गठबन्धनकै पक्षमा रहेको बताउनुभयो। उहाँले सत्ता गठबन्धनसँग पछिल्लो समय घनीभूत रूपमा छलफल भएको बताउनुभयो। जुन पक्षबाट आफ्नो मागको सम्बोधन हुन्छ, उसैलाई समर्थन गर्ने राउतले बताउनुभयो। संसदीय दलको नेता चयन भएपछि उहाँले आफू खुल्ला रहेको बताउनुभयो। उहाँले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटघाट मात्रै भएको जनाउनुभयो। उहाँले आफूले जनमत पार्टीले मुख्यमन्त्री दाबी गरेको जानकारी दिनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेता रवि लामिछानेले सरकारमा जाने विषयमा पार्टीभित्र निर्णय नभएको बताउनुभएको छ। उहाँले सरकार गठनका लागि सहयोग गर्नका लागि कुनै दलबाट पनि प्रस्ताव नआएको बताउनुभयो तर निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट भएको र छिट्टै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने जनाउनुभयो। सरकारमा जाने, नजाने विषयमा पार्टीले निर्णय गरेपछि मात्रै थप कुरा गर्नसक्ने उहाँले प्रतिक्रिया दिनुभयो।