• १३ वैशाख २०८१, बिहिबार

अव्यवस्थित सहरीकरणले मौलिकतामा आघात: प्रधानमन्त्री

blog

नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : कविन अधिकारी

काठमाडौं, पुस ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक साैन्दर्यता र मौलिकतासहित व्यवस्थित सहरीकरणमा जोड दिनुभएको छ ।

सोमबार नेपाल नगरपालिका सङ्घको ८ औँ राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

अव्यवस्थित सहरीकरणले प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र सहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रूपमा परिणत भइरहेको बताउनुहुँदै उहाँले काठमाडौं महानगरलगायत सबै नगरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।


उहाँले सहरहरूलाई आर्थिक विकासको हबका रूपमा समेत विकास गर्ने कार्यमा सहयोगी भूमिका निर्वाह गर्न नगरपालिका सङ्घलाई आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुनेगरी स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा कुरामा पनि उहाँले जोड दिनुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘संविधानले स्थानीय तहलाई विकास निर्माण, सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । स्थानीय सरकार जनताको घर, आँगनको सरकार भएकाले नगरपालिकाहरुले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्न आवश्यक छ ।’’

उहाँले स्थानीय तहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्दै लैजानु आवश्यक रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्ने बताउनुभयो ।

जनताको काम बिना झन्झट, छिटो, छरितो रूपमा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिबद्ध हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरू, योजनाबद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलेसा, हरियाली क्षेत्र र सरसफाइ आदिको समुचित प्रबन्ध गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

‘‘स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने हो, नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्छ । जनताको काम बिना झन्झट, छिटो, छरितो बिना मोर मुलाइजा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिबद्ध हुन आवश्यक छ । जनताले लिने सबै सेवाहरू बिना झन्झट पूरा गर्ने प्रबन्ध मिलाउन आग्रह गर्छु ।’’

प्रधानमन्त्री देउवाले थप्दै भन्नुभयो, ‘‘मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरू, योजनाबद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलैसा, हरियाली क्षेत्र र सरसफाइ आदिको समुचित प्रबन्ध गर्न आवश्यक छ । एकीकृत तवरले पूर्वाधारलाई विकास गर्न आवश्यक छ । आज मुलुकको अधिकांश नगरपालिकाहरू अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेका छन् । यसले एकातिर नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको छ भने अर्कोतर्फ हाम्रा सहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रूपमा परिणत भइरहेका छन् ।’’


मुलुकभित्रको सबै नगरपालिकालाई सुनियोजित, सुव्यवस्थित तरिकाले आफ्नो मौलिक पहिचान र विशिष्टतासहित नमुना नगरपालिका बनाउन आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नगरपालिकाले नगरसम्बन्धी कानुन बनाउने र नगरको समग्र समस्या सङ्घ र प्रदेशलाई उजागर गराइ रचनात्मक समारोहको बाटो पहिल्याउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।