• ७ वैशाख २०८१, शुक्रबार

डाँडाखेतमा विद्युतीय सबस्टेसन

blog

दरबाङ समाचारदाता 

म्याग्दी (दरबाङ), पुस ४ गते । म्याग्दीको मालिका गाउँपालिका–७, बीमस्थित डाँडाखेतमा म्याग्दी नदी र सहायक नदीमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सबस्टेशन निर्माण सुरु भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले बीमदेखि रघुगङ्गा गाउँपालिका–३, राहुघाटको अम्बाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण थालेको हो । 

प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालका अनुसार अहिले उपकरण राख्ने ठाउँ बनाइएको छ भने प्रसारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ ।

डाँडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रबिधिको उपकरण जडान गरिने भएको छ । यसैगरी राहुघाट नदीमा निर्माणाधीन सबस्टेसनमा २२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुनेछ । यो सबस्टेसन जीआईएस प्रविधिको हुने आयोजनाले जनाएको छ । 

भारतीय कम्पनी लार्सन एन्ड टियुब्रो (एलएनटी)ले सन् २०२१ को ३१ डिसेम्बरमा २६ मिलियन अमेरिकी डलरमा सबस्टेसन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । 

अहिले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माणलाई तीव्रता दिएको ठेकेदार कम्पनीले जनाएको छ । २५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन् ।

टावर निर्माण हुने जग्गाको पहिचान र नापजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरण सुरु भएको छ । २२ वटा टावर रहने जग्गाधनीलाई एक करोड ९० लाख २८ हजार ७१० रुपियाँ वितरण गर्न लागिएको हो ।

सबस्टेसन र प्रसारण लाइन निर्माणका लागि स्थलगत सर्वेक्षण र जग्गा अधिग्रहणको काम सकेर पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ, आयोजना प्रमुख अग्रवालले भन्नुभयो, “यो मुख्य उपलब्धि हो ।” डाँडाखेतमा सबस्टेसन बनाउन पाँच वर्षअघि ५१ रोपनी प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालिएको थियो  । संसारको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा १२ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् ।