• १६ चैत २०८०, शुक्रबार

ल्यान्डफिल साइटमा फोहोर फ्याँक्न रोकियो

blog

रमेश पौडेल

पोखरा, पुस ४ गते । पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेपछि पोखराको ल्यान्डफिल साइटमा आइतबारदेखि फोहोर फ्याँक्न रोक लगाइएको छ ।

पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ । महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रूपमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

महानगर कार्यपालिका बैठकले गरेको निर्णयमा लेखनाथ क्षेत्रका लागि हेम्जामा, बिरौटाका लागि छोरेपाटनलगायतका स्थान र फोहोर फाल्न मिल्ने खोल्साखोल्सीहरू छुट्याइएका छन् । अङ्ग्रेजी नयाँ वर्ष जनवरी १ बाट जसरी पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्ने भएकाले सो निर्णय गरेको हो । हाल रिठेपानीको डाँडा कटान गरी सो माटोले ल्यान्डफिल साइट छोप्न सुरु गरिएको छ । 

दीर्घकालीन समयका लागि भने सम्भावित ठाउँमा वातावरण अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र दलका नेता तथा प्राविधिक रहेको समिति चयन गरिएको छ । जसले दीर्घकालीन रूपमा ल्यान्डफिल साइटको खोजी गर्ने छ । 

सो समितिले प्रशोधन केन्द्र स्थापनाका लागि समेत विभिन्न विकल्पमा अध्ययन गर्नेछ । विभिन्न मुलुकमा फोहोरबाट बायोग्यास, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचरलगायत विभिन्न सामग्रीसमेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यीमध्ये कुनै न कुनै विकल्प अवलम्बन गरिने भएको छ । 

महानगरले तत्कालका लागि राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेको र सञ्चालनका लागि अन्तिम तयारी भइरहेको भन्दै यस अवस्थामा फोहोर व्यवस्थापनका लागि चालेका कदममा सहजीकरण गर्न सबैमा आग्रह गरेको छ । 

महानगरले आम नगरवासी र सम्बन्धित सरोकारवालामा छोटो समयका लागि फोहोर छुट्याएर तथा फोहोर घटाएर सम्बन्धित स्थानमै व्यवस्थापन गर्न अनुरोधसमेत गरेको छ ।