• १६ चैत २०८०, शुक्रबार

मौलिक सङ्गीत लोप हुन नदिन पहल

blog

ललितपुर, पुस ४ गते । नेपालको साङ्गीतिक  सम्पदाको अभिलेखीकरण नभए मौलिक सङ्गीत लोप हुने भन्दै सङ्गीत अध्येता तथा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। 

फोल्क लोकले ललितपुर पाटन सङ्ग्रहालय परिसरमा आयोजना गरेको साताव्यापी दाफा पुकार कार्यक्रमअन्तर्गत ‘नेपालको साङ्गीतिक सम्पदाको अभिलेखीकरण’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा  सहभागी वक्ताले पुस्तान्तरण हुँदै आएको मौलिक सङ्गीतको अभिलेखीकरणमा ढिला गर्न नहुने बताए। कार्यक्रममा राजन श्रेष्ठले नेपाल सङ्गीत अभिलेखालयमार्फत मौलिक/लोपोन्मुख गीत/सङ्गीतको डिजिटाइजेसन, सङ्गीतसँग सम्बन्धित पुस्तकालय व्यवस्थापन, वृद्ध अवस्थाका सर्जक, स्रष्टाको स्वरमा गीत रेकर्डसमेत गरिरहेको जानकारी दिनुभयो। अभिलेखालयले लोपोन्मुख मौलिक सङ्गीतका ज्ञाता चार सयभन्दा बढी कलाकारको सिर्जना, स्वर रेकर्ड गरेको जानकारी उहाँले दिनुभयो। 

सो अवसरमा फोल्क लोकका कार्यक्रम व्यवस्थापक पुष्पा पलाञ्चोकेले कीर्तिपुरमा सदियौँदेखि चलिरहेको दाफा संस्कृतिबारे विगत तीन वर्षदेखि अभिलेखीकरणको अभ्यास गरिरहेको बताउनुभयो। विभिन्न जात्रा, पर्व, विशेष महिनामा गाइने, गुरु शिष्य परम्परामा आधारित दाफा संस्कृतिमा पहिले महिलालाई दाफा गाउन वा वाद्यवादन बजाउन सिकाउने प्रचलन नभएकोमा अहिले महिलाले पनि सिकेर आफ्नो दक्षता र लगनको उदाहरण देखाउन थालेको उहाँले बताउनुभयो। त्यसैगरी कीर्तिपुरका राजमान महर्जनले चार वर्षदेखि टोलमा अभ्यास हुने दाफा संस्कृतिमा चासो दिन थालेको बताउनुभयो। उहाँले यस संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्ताले ध्यान दिएनन् भने पुराना पुस्तापछि लोप हुने अवस्था रहेको बताउनुभयो। लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले सरोकारवाला संस्था, निकाय, व्यक्तिबीच समन्वय गर्दै पुराना पुस्तासँग रहेको गीतसङ्गीतको ज्ञानलाई प्रविधिको सहयोगमा अभिलेख राख्ने काम दु्रत गतिमा गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले मौलिक गीतसङ्गीतको प्रवद्र्धन र यससम्बन्धी अध्येताका लागि पनि सङ्गीत अभिलेखालयको व्यवस्थापनमा ढिला गर्न हुँदैन भन्नुभयो। 

पाटन, भक्तपुर, चापागाउँ र कीर्तिपुरका विभिन्न मौलिक नृत्य समूह र दाफा खलःको प्रस्तुति दाफा परम्परामा आधारित नृत्य खः प्याखं, सम्पदा यात्रा र दाफा भजनसम्बन्धी पुस्तकहरूको पुनर्लेखन, गीतसङ्गीतको अभिलेखीकरणसम्बन्धी छलफलसहित साताव्यापी दाफा पुकार कार्यक्रम समापन गरिएको छ।