• १३ वैशाख २०८१, बिहिबार

बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

blog

दोलखा समाचारदाता

दोलखा, पुस ४ गते । दोलखाको मेलुङ गाउँपालिकाभित्रका अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिइने भएको छ। 

चालू आर्थिक वर्षमा यहाँका ३३ जना बालबालिकालाई मासिक दुई हजार रुपियाँका दरले वडा कार्यालयमार्फत भत्ता दिन लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय सिवाकोटीले जानकारी दिनुभयो। 

उहाँका अनुसार विभिन्न कारणले आमाबाबु गुमाएका १८ वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिन थालिएको हो। बालबालिकाको संरक्षण कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकारबाट प्राप्त बजेटबाट भत्ता वितरण गरिएको हो। आमाबाबु दुवैको मृत्यु भएको वा बेपत्ता भएका वा दुवैको संरक्षण तथा रेखदेखबाट वञ्चित बालबालिकालाई भत्ताको व्यवस्था गरिएको हो। 

पहिलो किस्ताबापतको रकम सम्बन्धित वडा कार्यालयबाट १५ दिनभित्र बुझ्न सकिने जानकारी दिँदै पालिका प्रमुख प्रशासकीय अधिकृत सिवाकोटीले भन्नुभयो, भत्ता लिन आउँदा जन्मदर्ता र संरक्षकको नागरिकताको फोटोकपी अनिवार्य ल्याउनु पर्नेछ।