• ४ वैशाख २०८१, मङ्गलबार

अधिवेशन आह्वान गर्ने बाटो खुल्यो

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस ४ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रस्तुत गरेसँगै प्रदेश सभाको अधिवेशन आह्वान गरी प्रदेश सभा सदस्यको शपथलगायतका प्रक्रिया सुरु गर्न सकिने भएको छ। 

आयोगले सातै प्रदेशमा प्रतिवेदन बुझाउने क्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेस गर्नुभएको हो। 

बागमती प्रदेशमा गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकाहरूको नामावलीसहितको परिणाम आयोगका सचिव दुवाडीले पेस गर्नुभएको थियो। 

निर्वाचन परिणामको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष रूपमा गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।

बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधि सभातर्फ ३३ निर्वाचन क्षेत्रबाट ३३ जना प्रतिनिधि सभा सदस्य र प्रदेश सभातर्फ ६६ निर्वाचन क्षेत्रबाट ६६ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा ४४ जना प्रदेश सभा सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ। प्रतिवेदनअनुसार यस प्रदेशमा सात राजनीतिक दलको प्रतिनिधित्व रहने भएको छ। 

प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन बुझाएसँगै प्रदेश सभाको अधिवेशन आह्वान गरी प्रदेश सभा सदस्यको शपथलगायतका प्रक्रिया सुरु गर्न सकिने भएको छ। प्रदेश सभाको अधिवेशनको आह्वानपछि प्रदेश प्रमुखबाट प्रदेश सभाको ज्येष्ठ सदस्यको शपथ, ज्येष्ठ सदस्यबाट बाँकी सदस्यको शपथ र सभामुखको चयन नभएसम्म प्रदेश सभा बैठकको अध्यक्षता गरी प्रदेश सभा सञ्चालनको प्रक्रिया अगाडि बढ्ने भएको छ। साथै उपसभामुखको चयन, दलहरूलाई संसदीय दलको नेता चयनसँगै प्रदेश प्रमुखबाट बहुमत जुटाउने दलको संसदीय दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठनका लागि बाटो खुल्नेछ।