• १३ वैशाख २०८१, बिहिबार

धान उत्पादन बढ्ने

blog

काठमाडौँ, पुस ४ गते । अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन पाँचदेखि ८ प्रतिशतसम्म बढ्ने आकलन छ। 

यो वर्षअनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बीउ र रासायानिक मलको आपूर्ति पनि सहज भएका कारण उत्पादन वृद्धि हुने देखिएको दाबी मन्त्रालयले गरेको हो।  मन्त्रालयले अहिले सातै प्रदेशको धान उत्पादनको तथ्याङ्क अद्यावधिक गरिरहेको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको तथ्याङ्क भने आउन बाँकी छ। यो वर्ष मुलुकभर १५ लाख चार हजार ४८६ हेक्टर क्षेत्रफलमा ९४ प्रतिशत धान रोपाइँ भएको थियो। यो वर्ष खेतीयोग्य जमिनको क्षेत्रफल र उत्पादन दुवै बढ्ने देखिएको मन्त्रालयले जनाएको छ। 

आव २०७८/७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टरमा धान रोपाइँ भएको थियो तर धान भित्र्याउने समयमा भएको प्रतिकूल वर्षाका कारण धान उत्पादन ८ दशमलव ७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार टन भएको थियो। आव २०७७/७८ मा ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको थियो।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत छ। कृषि क्षेत्रको वृद्धिदर २ दशमलव २४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ जीडीपीमा मुख्य बालीका रूपमा धानको योगदान ११ दशमलव ३० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।