• ११ वैशाख २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव

सन्देश प्रवाह गर्न फिल्म एक सशक्त माध्यम

blog

काठमाडौं, पुस ३ गते । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आजबाट सुरु भएको छ । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ नारासहित आयोजना गरिएको महोत्सवको उद्घाटनमा शान्ता नेपालीको निर्देशनमा बनेको वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पे्रचर्स, टप अफ द वर्ल्ड’ प्रदर्शन गरिएको हो । 

फिल्ममा हिमालको कथा वा हिमालमा बसोबास गर्ने शेर्पा समुदायको सङ्घर्षका कथालाई देखाइएको छ । महोत्सवको उद्घाटन, लाइभ साङ्गीतिक कार्यक्रमसहित राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्नुभयो । अध्यक्ष मगरले मानव अधिकारसम्बन्धी फिल्म बनाउँदा घटनाक्रमलाई नजिकबाट नियाल्ने, सामग्री र नैतिकताको विषयलाई पनि ध्यान दिन अनुरोध गर्नुभयो । सीमान्तकृत व्यक्तिहरूलाई मानवअधिकारको शिक्षा प्रदान गर्ने, अधिकारको संरक्षण र प्रवर्धन कसरी गर्ने भन्ने विषयमा छलफल हुन जरुरी रहेको उहाँको भनाइ छ ।


समाजमा अझै पनि हुनेगरेको बालविवाह, छाउपडी प्रथा, भेदभाव र छुवाछूतजस्ता समस्यालाई उन्मूलन गर्न सशक्त उपाय बन्नसक्ने उदाहरण दिँदै उहाँले फिल्ममार्फत पनि धेरै समस्या समाधान गर्न सकिने सुझाव दिनुभयो ।  

अध्यक्ष मगरले भन्नुभयो, “दुई घण्टाको भाषणले पूरा गर्न नसकेको विषय एक मिनेटको फिल्मले पूरा गरेर आँखा खोल्न मद्दत गर्न सक्छ ।” 

कार्यक्रमका संयोजक अमृत देवकोटाले फिल्म सन्देश दिनका लागि एक सशक्त माध्यम बन्दैआएको बताउँदै जलवायु परिवर्तनको विषय अब वातावरणीय मुद्दा वा विज्ञानको विषय मात्रै नभएर आर्थिक र सामाजिक न्यायको विषय भएको बताउनुभयो । विभिन्न देश र समुदायका समस्याबाट बनेका फिल्म आफैँ महत्त्वपूर्ण माध्यम बनेको उहाँको भनाइ छ । 

जलवायु परिवर्तन र वातावरणीय जोखिमको हिसाबले सबैभन्दा पछाडि पारिएको समुदायलाई अधिकार सुनिश्चित गर्न कला वा फिल्मको माध्यम अत्यन्तै महत्त्वपूर्ण र प्रभावकारी माध्यम बनेको संयोजक देवकोटाको भनाइ छ ।  

महोत्सवको विषयवस्तु जलवायु परिवर्तन 

महोत्सवमा ‘जलवायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बन्धी विज्ञ, चलचित्रकर्मीहरूसँग समूहगत छलफल हुने भएको छ । महोत्सवमा प्रत्येक दिन चलचित्रहरू प्रदर्शनपछि मानवअधिकारकर्मी, चलचित्र पारखी एवम् कलाकर्मीबीच चलचित्र र मानव अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम रहेको छ । 

महोत्सवको सह–आयोजकको रूपमा राष्ट्रिय मानवअधिकार आयोग रहेको छ । महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित छोटो फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिने आयोजकले जनाएको छ । 

महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित छोटो फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिने आयोजकले जनाएको छ । 

नेपालबाट निर्देशक अविनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिवार्ण भट्टचार्य, कोरियाबाट मानवअधिकार अभियन्ता तथा महोत्सव निर्देशक सुली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रूपमा रहनुभएको छ ।      

विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ चलचित्र महोत्सवमा देखाइने छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म चार दिनसम्म काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ ।