• १६ चैत २०८०, शुक्रबार

प्रदेश सभाको भौतिक संरचनालाई साढे दुई करोड

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस २ गते । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान हुनुपूर्व प्रदेश सभा कक्षलगायत सचिवालयको नयाँ संरचना निर्माणसँगै मर्मतसम्भार भइरहेको छ । प्रदेश सभामा भएका संरचना अपुग भएको भन्दै प्रदेश सभा सचिवालयले प्रदेश सभाका समिति, संसदीय दलकाको बैठक कक्ष, चमेनागृह र सुरक्षाकर्मीको आवास निर्माण गरेको हो ।

प्रदेश सभा सचिवालयमा नयाँ संरचनाको निर्माणसँगै मर्मतसम्भार दुई करोड ६० लाख रुपियाँभन्दा बढीको लागतमा निर्माणाधीन छ ।

प्रदेश सभा सचिवालयका सचिव हरिकृष्ण खड्काले प्रदेश सभाका समिति र संसदीय दलको बैठक कक्ष दुई करोड १३ लाख रुपियाँको लागतमा निर्माण गर्ने गरी सम्झौता भई निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । हाल भएको चमेनागृह प्रदेश सभा सदस्यका लागि असुविधा भएकाले नयाँ निर्माण गरिएको भन्दै सचिव खड्काले चमेनागृह र प्रदेश सभामा सुरक्षार्थ रहने सुरक्षाकर्मीको आवास ४० लाख ६१ हजार रुपियाँको लागतमा निर्माण भइरहेको बताउनुभयो ।

यस्तै सभामुख, उपसभामुख, सचिवको कार्यसँगै प्रदेश सभा हलको मर्मत सम्भार र रङरोगनलगायतको काम सात लाख रुपियाँभन्दा बढीको लागतमा भइरहेको छ । प्रदेश सभा सचिवालय सचिव खड्काले प्रदेशको बागमती प्रदेश सभा भवनको संरचना देशको सातै प्रदेशमध्ये सबैभन्दा कमजोर रहेको बताउनुभयो । नयाँ प्रदेश सभा हल निर्माणाधीन रहेको जानकारी दिँदै उहाँले नयाँ प्रदेश कक्ष निर्माण सम्पन्न भएपछि सहज हुने र यो बन्न झन्डै एक वर्ष लाग्ने देखिएको बताउनुभयो ।

२०७७ मङ्सिर १० गतेबाट निर्माण सुरु भएको प्रदेश सभा हल प्रदेश तोकिएको समय सीमामा नबन्दा हेटौँडा उपमहानगरपालिका–१० स्थित तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको साँघुरो भवनमा नै प्रदेश सभाको दोश्रो कार्यकालको एक वर्ष गुजार्नुपर्ने भएको छ ।

निर्माणाधीन २५० जना क्षमताको प्रदेश सभा हल प्रदेश सरकारको चार करोड ३७ लाख २४ हजार ७८७ रुपियाँको लागतमा १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय मकवानपुरमार्फत निर्माण भइरहेको प्रदेश सभा भवन गत वैशाखमा निर्माण सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीले समयमा पूरा गर्न नसकेपछि म्याद थप गरी २०८० जेठ मसान्तसम्मका लागि पु-याइएको छ ।

प्रदेश सभा सचिवालय सचिव खड्काले निर्माण कम्पनीले हल निर्माण गरिसकेपछि पनि सभा कक्षमा आवश्यक माइक, टेबुल, कुर्सी, आवश्यक अन्य उपकरणलगायत बोलपत्र आह्वान गरी काम गर्दा समयमा व्यवस्थापन भएमा थप छ महिना लाग्ने बताउनुभयो ।