• १६ चैत २०८०, शुक्रबार

जग्गाभाडा वृद्धिको विरोधमा उद्योगी

blog

सन्तोष सुवेदी

कास्की, पुस १ गते । पोखरा औद्योगिक क्षेत्रका उद्योगीहरू आन्दोलनमा होमिएका छन्। औद्योगिक व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको जग्गाबहालको भाडा वृद्धि गरेपछि उद्योगीहरू आन्दोलित भएका हुन्। 

पोखरा औद्योगिक क्षेत्रमा सञ्चालित हरेक उद्योगको मूलद्वारमा कालो झन्डा टाँसेर विरोध जनाएका छन्। विरोधपत्रमा लेखिएको छ, “अन्यायपूर्ण विभेदकारी भाडा वृद्धिविरुद्धमा आन्दोलन।” आइतबारदेखि यसरी उद्योगको गेटमा कालो झन्डा र विरोधपत्र टाँसेर पोखरा औद्योगिक क्षेत्रका उद्योगी आन्दोलनमा होमिएका हुन्। 

पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले सात सय प्रतिशत भाडा वृद्धि भएको बताउनुभयो। उहाँका अनुसार पोखरा औद्योगिक क्षेत्रमा छ हजार तीन सय रुपियाँ प्रतिरोपनी जग्गाको भाडादर अहिले ५४ हजार रुपियाँ लागू गर्ने निर्णय भएको थियो।

उद्योगीको विरोधपछि वृद्धि भएको भाडादर लागू भएन। यो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिले ०७५ साउन १ गते भाडादर वृद्धि गरेको थियो। औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७९ को नियम ३ को उपनियम १ मा उत्पादनमूलक उद्योगको हरेक पाँच वर्षमा भाडादर पुनरवलोकन गर्ने व्यवस्था छ। तर एकलौटी रूपमा उद्योग सञ्चालन गरिएको जग्गाको भाडा वृद्धि हुनु गलत भएको भन्दै देशैभरका औद्योगिक क्षेत्रका उद्योगी विरोधमा उत्रिएका छन्।

विरोध स्वरूप सङ्घले पहिलो चरणको आन्दोलनअन्तर्गत मङ्सिर २५ गते सबै उद्योगमा एकल भाडादर तथा वार्ता र सहमतिमा उद्योगमैत्री भाडादर निर्धारणको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेको थियो।

अध्यक्ष श्रेष्ठका अनुसार उद्योगीलाई दुई लाखदेखि ६० लाख रुपियाँसम्म तिर्नुपर्ने भन्दै बिल पठाइएको छ। भाडा वृद्धिको सम्बन्धमा अध्ययन गर्न बनेको समितिले प्रतिवेदन नबुझाउँदै पुरानो निर्णय कार्यान्वयन गराउन खोज्नु गलत भएको उहाँको टिप्पणी छ। 

पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले भाडा वृद्धि वैज्ञानिक नभएको बताउनुभयो। पत्रकार सम्मेलनमा कार्कीले बैङ्किङ तरलताले मर्कामा परेको बेला व्यवसायमैत्री वातावरण बनाउनुपर्ने बताउनुभयो। 

२०३१ सालमा ५०१ रोपनी क्षेत्रफलमा स्थापना गरिएको पोखरा औद्योगिक क्षेत्रमा ७६ उद्योग छन्। ३९७ रोपनी क्षेत्रफल उद्योग सञ्चालनार्थ पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले भाडामा लगाएको छ।