• ६ वैशाख २०८१, बिहिबार

दलको नेता बन्न दौडधुप

blog

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, पुस १  गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको अन्तिम परिणाम सार्वजनिक भएसँगै दलको नेता बन्न आकाङ्क्षीहरू समर्थन जुटाउन सक्रिय भएका छन्। खासगरी मधेश प्रदेश सभामा प्रतिनिधित्व गरेका मुख्य राजनीतिक दलभित्र दलको नेता बन्ने आकाङ्क्षीहरू समर्थनका लागि दौडधुप सुरु गरेका हुन् । 

प्रदेश सभामा पहिलो र दोस्रो राजनीतिक दल बनेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसभित्र दलको नेता बन्न चाहनेहरू बढी सक्रिय भएका छन्। आ–आफ्नो पक्षमा समर्थन जुटाउन र दलको आधिकारिक उम्मेदवारका लागि इच्छुक नेताहरू पार्टीका शीर्षस्थ नेताको घरदैलोमा धाइरहेका छन्। दलको नेता बन्न दाबी गरिरहेका प्रदेश सभा सदस्यहरू काठमाडौँमै छन् भने अधिकांश दाबेदारहरू आफ्नो पक्षमा माहोल बनाउन प्रदेश सांसदहरूसँग सम्पर्कमा जुटिसकेका छन्।

निर्वाचन आयोगले प्रदेश सभामा १० वटा राजनीतिक दलको प्रतिनिधित्व कायम गरेको छ। कांग्रेस, एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको प्रदेश सभामा प्रतिनिधित्व कायम भएको छ।

दलको नेता बनेर प्रदेशको मुख्यमन्त्री बन्न इच्छुक नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रदेश सभा सदस्य कृष्णप्रसाद यादव केही दिनदेखि काठमाडौँमा बस्नुभएको छ। सत्ता गठबन्धनभित्र कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्ने सम्भावना देखिएपछि सभापतिसहित रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह, जनार्दन सिंह क्षेत्रीले पनि दलको नेता बन्न इच्छुक रहेको बताउनुभएको छ। पार्टीको प्रदेश सभापतिको हैसियतले दलको नेता बन्ने आफ्नो दाबी रहेको प्रदेश सभापति यादवले बताउनुभयो। त्यस्तै प्रदेशमा यसअघि आफू नै दलको नेता भएर सरकारमा सहभागी भएकाले फेरि दलको नेता आफू नै बन्न पाउनुपर्ने प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रामसरोज यादवले बताउनुभयो। 

प्रदेशमा पहिलो दल बनेको एमाले नेतृत्वमा पनि प्रदेश सरकार बन्ने सम्भावना रहेकाले एमालेभित्र पनि संसदीय दलको नेता बन्न चार जना आकाङ्क्षी देखिएको प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामतले जानकारी दिनुभयो। एमालेका हरिनारायण महतो, सरोजकुमार यादव, राजकुमार लेखी थारू दलको नेताका लागि चर्चित नाम रहेको उहाँले बताउनुभयो। अहिलेसम्म दलको नेता छनोटका लागि पार्टीले कुनै प्रकारको निर्देशन नदिएको भए पनि आफू दलको नेता बन्न आकाङ्क्षी रहेको प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले बताउनुभयो। प्रदेश सभा सदस्यहरूको बैठकले दलको नेता चुनिने भएकाले अर्का सभा सदस्य राजकुमार लेखीले दलको नेता बनेर जिम्मेवारी बहन गर्न तयार रहेको बताउनुभयो 

प्रदेशमा तेस्रो दलको हैसियतमा पुगेको जसपामा वर्तमान मुख्यमन्त्री लालबावु राउतलाई दलको नेतामा निरन्तरता दिने सम्भावना कम छ। आफू दलको उपनेताको जिम्मेवारी निर्वाह गरिसकेकोले अब संसदीय दलको नेता बन्नुपर्ने जसपाका प्रदेश सांसद रामआशिष यादवले बताउनुभयो। 

पहिलो पटक निर्वाचनमा सहभागी जनमत पार्टी प्रदेशमा चौथो स्थानको प्रतिनिधित्व गर्ने अवसर पाएको छ। दलको नेता बन्न सतिशकुमार सिंह, महेशप्रसाद यादव, चन्दन सिंह आकाङ्क्षी रहनुभएको छ। गाउँपालिका अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेको जनाउँदै सतीशकुमार सिंहले भन्नुभयो, “अब दलको नेता बनेर भूमिका निर्वाह गर्न चाहेको छु।” पार्टीमा छलफल भई दल नेताको जिम्मेवारी दिए इमानदारीपूर्वक निर्वाह गरिने महेशप्रसाद यादवले बताउनुभयो। 

लोसपाभित्र जितेन्द्रप्रसाद सोनार सोनल, उपेन्द्र महतो, रानीकुमारी शर्मा तिवारी, अभिराम शर्मामध्ये एक जना दलको नेता बन्ने चर्चा रहेको छ। पार्टीमा छलफल गरेर दलको नेता छान्ने यसअघि दलको नेता रहिसक्नुभएका सोनलले जानकारी दिनुभयो। यसअघि जिम्मेवारी पाएका सोनलको नेतृत्व प्रभावकारी नभएको भन्दै अर्का सभा सदस्य उपेन्द्र महतोले भन्नुभयो, “यस पटक मैं दलको नेता बन्ने प्रयासमा लागेको छु।” पार्टीका शीर्ष नेतासँग छलफलमा काठमाडौँमा रहनुभएकी रानीकुमारी शर्मा तिवारीले दलको नेता बन्न आफ्नो दाबी रहेको बताउनुभयो। 

यसैगरी नेकपा (माओवादी केन्द्र)मा दलको नेता बन्न मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह मुख्य दाबेदार रहनुभएको छ। नेकपा (एकीकृत समाजवादी)मा गोविन्दबहादुर न्यौपाने, बेची लुङ्गेलीको नाम दलको नेता बन्ने चर्चामा छ।  

प्रदेश सभामा एमाले २३, कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा नौ, नेकपा (माओवादी केन्द्र) आठ, नेकपा (एकीकृत समाजवादी) सात सिट जितेका छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक/एक सिट जितेका छन्। प्रत्यक्षमा छ जना सदस्य स्वतन्त्र उम्मेदवारले जितेका छन्।