• ८ वैशाख २०८१, शनिबार

मोबाइलसिर्जित तनाव

blog

संसार नै मोबाइलमा अडिएको छ। मोबाइलमा इन्टरनेट जोडेपछि कोसौँ टाढा बस्ने अमेरिका, चीन, जापान, रसियाका राष्ट्रपति, प्रधानमन्त्रीलाई समेत आँखा अगाडि देख्न सकिने बनाएको छ। देश–विदेशमा रहेका आफन्तसँग सस्तो दरमा घण्टौँसम्म कुराकानी गर्न सकिने भएको छ। अति आवश्यक भएको खण्डमा तुरुन्तै सूचना आदान–प्रदान गरी कामलाई सजिलो बनाइदिएको छ। 

देश–विदेशका समाचार मोबाइलबाटै कुनै पनि समयमा सजिलै सुन्न सकिने भएको छ। कोरोना फैलिएको समयमा स्कुल, कलेजको पढाइ नै मोबाइलबाट सम्भव भयो। परीक्षा लिने–दिने, परीक्षाफल प्रकाशित गर्ने, स्कुल–कलेजको फी तिर्नेजस्ता पैसा तिर्नुपर्ने सम्पूर्ण काम गर्न मोबाइलले सहज बनाएको छ। अफिसका कतिपय सेमिनार, भेला, गोष्ठी मोबाइलबाटै सम्भव भएका छन्। मोबाइलकै मद्दतबाट मानिसले जागिर खाइरहेका छन्। 

अनलाइन सपिङ, अस्पतालका टिकट, सेयर बजारमा खरिद–बिक्रीजस्ता घण्टौँ समय लाग्ने काम सानो हातमा समाएर, खल्तीमा बोकेर हिँड्न मिल्ने मोबाइलले नै सम्भव बनाएको छ। टिकटक बनाएर, गीत गाएर, नाचेरजस्ता आफ्ना कला मोबाइलको माध्यबाट प्रदर्शन गर्दा नाम र काम दाम दुईटै कमाइरहेकासमेत छन्। हात–हातमा मोबाइल भएकै कारण कतिपयको सवारी पनि सजिलो भएको छ। ढिलो भएको बेला, अफिस पुग्न होस् या अस्पताल मोबाइल बोकेका ट्याक्सी, पठाओले सबैलाई सुविधा दिइरहेको छ। बाढी, आगलागी, पहिरोजस्ता प्रकोपबाट बच्न पनि मोबाइलले सहयोग पु¥याइरहेको छ। चुचावको प्रचारप्रसारसमेत मोबाइलबाट गरियो। मानिसले आफूलाई चाहिने सम्पूर्ण कुरा मोबाइलबाटै खोजेर जान्ने, सिक्ने, बुझ्ने गरिरहेका छन्। अहिलेको समयमा इन्टरनेटजडित मोबाइलका अनेकौँ फाइदालाई नकार्न सकिँदैन।

मोबाइलका अनेकौँ फाइदा भए पनि यसबाट हुने बेफाइदा पनि त्यत्तिकै छन्। यदि मोबाइलको सही सदुपयोग गर्न जानिएन भने यसले ज्यान लिनेसम्मका घटनासमेत भइरहेका छन्। मोबाइलबाटै अपहरण गर्ने योजना, फिरौती माग्नेजस्ता काम पनि भइरहेका छन्। मोबाइलबाटै किशोर–किशोरीको चिनजान हुने, एकअर्काको मायाजालमा पर्ने, अश्लील फोटो साटासाट गर्ने र त्यसबाटै किशोरीलाई ब्ल्याकमेल गर्नेजस्ता अनेकौँ क्रियाकलाप भएका घटना प्रहरीमा दर्ता हुने गरेका छन्। 

यति मात्रै होइन, पढ्ने उमेरका बालबालिकामा मोबाइलको लत लाग्दा उनीहरू पढाइमा कमजोर हुने, खेलकुदमा ध्यान नदिँदा मोटोपन बढ्ने, मधुमेहको सिकार हुने, अभिभावकसँग झर्किनेजस्ता अनौठा क्रियाकलाप देखाइरहेका छन्। बेरोजगार युवा घण्टौँसम्म मोबाइलमा व्यस्त हुँदा आफ्नो अमूल्य समय रचनात्मक काममा लगाउनुको सट्टा आफूलाई काम नलाग्ने अनेकौँ भिडियो हेरेर, मोबाइलमा गेम खेलेर व्यतीत गरिरहेका छन्। साना स्कुले बालबालिकाले मोबाइलका कतिपय साइडमा राखिएका फोहोर शब्दहरूको अर्थ थाहा पाएर वा नपाइकनै पनि उच्चारण गर्ने गरेका देखिन्छन्। यसले समाजलाई बिस्तारै अराजकता तथा अश्लीलतातिर बढाउने देखिन्छ।

मोबाइलको असर गृहिणी, विद्यार्थी, बोल्न नजान्ने बालकदेखि सरकारी जागिरे सबैमाथि परेको छ। अस्ति बैङ्कमा आमाका नाममा खाता खोल्न जाँदा अन्तिममा हाकिमकोमा हस्ताक्षर गर्न जानुप¥यो। सेयर भर्नका लागि खाता खोल्न लागेको भनेर हामीलाई सोधे। उता आफू भने कम्प्युटरमा सेयरकै बजार घटबढ भएको हेरेर बस्नुभएको थियो। केही दिन अगाडि एक जना विद्यार्थीले मोबाइलबाटै आफ्नी केटी साथीलाई आफूलाई पैसाको अति नै आवश्यकता भएको भन्दै पैसाको माग गरेका थिए। उनकी साथीले आफ्ना अभिभावकलाई थाहै नदिई मोबाइलबाटै एफहरू प्रयोग गरी उनको खाताबाट केटासाथीलाई पैसा पठाइन्। यो पनि मोबाइलको एउटा अनुचित प्रयोग हो। 

घर–घरमा अचेल इन्टरनेट जडान भएका छन्। हात–हातमा मोबाइल छन्। विद्यार्थीदेखि वृद्धसम्म सबैले मोबाइल चलाउँछन्। यसले झनै परिवारमा बोलचाल बन्द भएको छ। सबै आफ्नै धुनमा मस्त हुन्छन्। भन्नुपर्दा कसैलाई कसैको मतलब हुँदैन। सबै आफ्नै मोबाइलमा व्यस्त देखिन्छन्। घरपरिवार एक ठाउँमा बस्ने, सुखदुःखका कुराकानी गर्ने, भविष्यका योजना बनाउने, आफूले दिनभरि गरेका कामका बारेमा एकअर्कालाई सुनाउने, अरूबाट सल्लाह सुझाव बटुल्ने यस्ता कुनै पनि क्रियाकलाप हुने गरेको देखिँदैन अचेल घरपरिवारमा। बरु मोबाइल हातमा हुँदा टाढा रहेका आफन्तसँग कुराकानी भइरहन्छ तर घरका मान्छेसँग सन्चो, बिसन्चो सोध्ने फुर्सदसमेत हुँदैन। 

सामाजिक सञ्जालमा अपडेट भइरहनु भनेको एक प्रकारले विश्व परिवेशका बारेमा चासो हुनु पनि हो। समाजमा सकारात्मक परिवर्तन ल्याउन सामाजिक सञ्जालबाटै सत्य कुराको साथ दिनु तथा असत्यका बारेमा मुख खोल्नु, लेख्नु पनि सचेत नागरिकको दायित्व हो तर मोबाइल हातमा छ भन्दैमा आफ्नो काम, परिवारलाई एकातिर पन्छाएर त्यसमै व्यस्त रहनु भनेको एक प्रकारको लत नै हो। मोबाइलको लतले के विद्यार्थी, के युवा सबैको अमूल्य समय नष्ट गरिरहेको हुन्छ। आफूलाई अति नै महìवपूर्ण देखिएका भिडियोहरू हेर्ने, समय मिलाएर मनोरञ्जनका लागि आफूलाई मन पर्ने गीत सुन्ने, कहिलेकाहीँ ज्ञान तथा नैतिक शिक्षा प्रदान गर्ने खालका चलचित्र हेर्ने गर्दा यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दतसमेत गर्छ। आफ्नो काम तथा घरपरिवारलाई दिनुपर्ने अमूल्य समय नष्ट गर्दै मोबाइलमा देखिने युट्युबका जुनसुकै भिडियोमा घण्टौँ अल्झिनु सचेत नागरिकको दायित्वभित्र कदापि पर्दैन।