• ५ वैशाख २०८१, बुधबार

भू–उपयोग कार्यविधि पारित

blog

दमक समाचारदाता 

दमक,पुस १ गते । झापाको दमक नगरपालिकाले जमिनको वर्गीकरण गर्न आवश्यक भू–उपयोग कार्यविधि, २०७९  पारित गरेको छ। ३३ वटा दफा र दुईवटा अनुसूची भएको भू–उपयोग कार्यविधि नगरपालिकाको बोर्ड बैठकले सर्वसम्मत पारित गरेको हो।

नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार नगरस्तरीय भू–उपयोग परिषद्बाट वर्गीकरणसम्बन्धी प्रतिवेदन पारित भई नगर कार्यपालिकाको बैठकबाट समेत यसलाई सर्वसम्मत रूपमा पारित गरिएको हो। पारित प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको सम्पूर्ण विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद् र सङ्घीय भू–उपयोग परिषद्मा पठाइसकिएको समेत उहाँले जानकारी दिनुभयो। 

नगरपालिका–२ का वडाध्यक्ष प्रजापति सापकोटाको संयोजकत्वमा जग्गाको वर्गीकरण मापदण्ड निर्धारणसम्बन्धी समिति गठन गरेर १० वटै वडामा वर्गीकरणको काम सकेको थियो। वडा स्तरबाट आएको वर्गीकरणसम्बन्धीको राय सुझावसहितको प्रतिवेदनका आधारमा कार्यविधि बनेको हो। दमक क्षेत्रको जग्गा वर्गीकरणको मुख्य आधार सडकलाई बनाइएको जग्गाको वर्गीकरण मापदण्ड निर्धारणसम्बन्धी समितिका संयोजक प्रजापती सापकोटाले बताउनुभयो। १२ मिटरभन्दा बढी चौडाइ सडक रहेको आसपासका जग्गाललाई व्यावसायिक क्षेत्र तोकिएको छ । यसैगरी १८ मिटरभन्दा बढी चौडाइ भएका बाटोको पहुँच रहेको क्षेत्रलाई औद्योगिक क्षेत्र तोकिएको छ । नापी नक्सामा गोरेटो बाटो राजकुलो, पर्ति सार्वजनिक जग्गा वन क्षेत्रले नछोएको जग्गाहरू कृषिमा समेटिएको छ । बसोबास, व्यवसायिक क्षेत्र वा अन्य उपयोग भएको क्षेत्रसँग जोडिएको भए पनि कुनै पनि कित्ताको क्षेत्रफल पाँच हजार वर्गमिटरभन्दा बढी भएको र त्यसमा खेती गरिएको वा पर्ति बाँझो जग्गालाई कृषि क्षेत्रका रूपमा लिइएको सापकोटाले जानकारी दिनुभयो।