• ४ वैशाख २०८१, मङ्गलबार

पद्मा–श्याम गोतामे स्रष्टा सम्मान प्रदान

blog

काठमाडौँ, पुस १ गते । वरिष्ठ हास्यव्यङ्ग्य निबन्धकार श्याम गोतामे तथा उहाँकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा–श्याम गोतामे स्रष्टा सम्मान–२०७९’ वरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ ।

२१ हजार रुपियाँ राशिसहितको उक्त सम्मान पहिलो पटक हास्यव्यङ्ग्य लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले बुधबार कार्यक्रम आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा आयोजित समारोहमा गोतामेपत्नी पद्मा गौतम प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो ।

सम्मानित व्यक्तित्व निबन्धकार पाँडे, साहित्यकारहरू अशेष मल्ल, विधान आचार्य, श्रीओम श्रेष्ठ ‘रोदन’, राधेश्याम लेकाली, धीरेन्द्र प्रेमर्षि, देविका तिमिल्सिना, गोतामेकी सुपुत्री नीरा गौतमले मूर्धन्य निबन्धकार श्याम गोतामेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । पुरस्कृत निबन्धकार पाँडेले श्याम गोतामेको खरो स्वभाव, निडर, तीखो व्यङ्ग्य गर्ने र आफ्नै बुवालाई समेत भ्रष्टाचारको मुद्दा हाल्ने एक अनौठो व्यक्तित्व भएको स्मरण गर्नुभएको थियो ।

कार्यक्रममा अभियान साहित्य कलाकार समाजका संरक्षक, हास्यव्यङ्ग्य लेखक तथा कलाकार डम्बर घिमिरे, साहित्यकार पशुपति दङ्गाललगायतका स्रष्टाको उपस्थिति  थियो ।