• १५ चैत २०८०, बिहिबार

उपाधि रक्षाको सँघारमा फ्रान्स

blog

अल कोर (कतार), पुस १ गते । एमबापेको टिम फ्रान्सले बिहीबार बिहान मोरक्कोको विश्वकप फुटबल प्रतियोगितामा ऐतिहासिक यात्रा २–० ले समाप्त पार्दै फाइनलमा स्थान बनाएको छ। फ्रान्स फाइनल पुगेको खुसी मनाउन राष्ट्रपति इमानुअल म्याकरन पनि रङ्गशालामा उपस्थित हुनुहुन्थ्यो।

यस नतिजापछि फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्त हुने भएको छ। पहिलो सेमिफाइनलमा लियोनल मेसीको प्रेरणामा रहेको टिम अर्जेन्टिनाले क्रोएसियाको चुनौती ३–० ले समाप्त पारेको थियो। विश्व फुटबलका दुई सुपरस्टारबीचको भिडन्त हुने भएकाले पनि विश्वकप फुटबलको फाइनलमा रोमाञ्चक थपिएको छ। फाइनललाई कलियन एमबापे भर्सेज लियोनल मेसीका रूपमा पनि लिइएको छ।

फ्रान्स उपाधि रक्षा अभियानमा रहेको छ। सन् १९५८, १९६२ मा ब्राजिलपछि विश्वकप फुटबल उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्नबाट फ्रान्स अब सँघारमा छ। ब्राजिलबाहेक सन् १९३४ र १९३८ मा इटाली पनि लगातार विश्वकप च्याम्पियन बनेको थियो। सन् २००२ मा फ्रान्स विश्व विजेताका रूपमा खेल्दा समूह चरणबाट बिदा भएको थियो। सन् २००६ मा फ्रान्स फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा हारेपछि च्याम्पियन बन्न सकेन। सन् २०१४ मा पनि फ्रान्स समूह चरणबाट नै बिदा भएको थियो। 

फ्रान्स चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो। अझ फ्रान्स पछिल्ला सात विश्वकपमा चौथो पटक फाइनलमा खेल्दै छ। जुन कीर्तिमान पनि हो। फ्रान्स पछिल्ला चार पटक सेमिफाइनलमा निराश हुनुपरेको छैन। यसमध्ये फ्रान्सले दुई पटक उपाधि जितेको छ भने एक पटक इटालीसँग टाइब्रेकरमा हारेको थियो।

गोल्डेन बुटको दाबेदारीमा मेसीसरह पाँच गोल गरेर शीर्ष स्थानमा रहेको एमबापेले मोरक्कोविरुद्ध भने गोल गर्न सक्नुभएन। यद्यपि खेलको पाँचौँ मिनेटमा थियो हर्नान्डेज र ७९औँ मिनेटमा रान्डल कोरो मुआनीले गरेको गोलमा एमबापेको संलग्नता रहेको थियो। एमबापेको प्रहार डिफेन्डरको खुट्टामा लागेपछि बल हर्नान्डेज भएको स्थानमा पुगेको थियो। हर्नान्डेजले कठिन कोणबाट निकै उफ्रिरहेको बलमा निकै दर्शनीय प्रहारद्वारा गोल गरी फ्रान्सलाई स्वप्निल अग्रता दिलाउनुभयो। हर्नान्डेजको सफलता यस विश्वकपमा विपक्षी खेलाडीले मोरक्कोविरुद्ध गरेको पहिलो गोल भएको छ।

दोस्रो गोलमा पनि एमबापेकै देन रह्यो। एमबापेले दुई जना डिफेन्डरलाई छलाएर प्रहार गरेको बल मोरक्कोका खेलाडीलाई लागेर कोलो मुवानी भएको ठाउँमा पुगेको थियो। उहाँले नजिकबाट बललाई गोलपोस्टमा छिराउनुभयो। सो समय मुवानी स्थानापन्न खेलाडीका रूपमा मैदान छिरेको एक मिनेट पनि भएको थिएन। 

चार वर्षअघि फ्रान्सलाई विश्वकपको उपाधि दिलाउँदा चम्कनुभएका एमबापे अहिले आफ्नो सुरुका दुई विश्वकपमै उपाधि जित्ने खेलाडीको गौरव हासिल गर्नबाट एक खेल मात्र टाढा छ। जुन गौरव ब्राजिलका महान् फुटबलर पेलेले मात्र हासिल गर्नुभएको छ। अर्जेन्टिना पनि तेस्रो पटक विश्वकप जित्ने दाउमा छ। मेसीले यस संस्करणलाई आफ्नो अन्तिम विश्वकप भनिसक्नुभएको छ। त्यसैले पनि फ्रान्स र अर्जेन्टिनाको खेललाई ड्रिम फाइनलभन्दा फरक पर्दैन।

क्रोएसिया र बेल्जियमजस्तो ठूला टिम सामेल समूहमा विजेता बनेर नकआउटमा पुगेको मोरक्कोले त्यसपछि दाबेदारहरू स्पेन र पोर्चुगललाई पनि विश्वकपबाट बिदा ग¥यो तर सेमिफाइनलमा भने मोरक्कोले फ्रान्सविरुद्ध सोही नतिजा दोहो¥याउन सकेन।

“हामी दुःखी र निराश छौँ। हामी आफ्नो सपना कायम राख्न चाहन्थ्यौँ। यद्यपि हामी मोरक्को र अफ्रिकी फुटबलको छवि उच्च पारेर फर्कंदै छौँ, त्यो नै हाम्रा लागि ठूलो कुरा हो,” मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुलीले भन्नुभयो। यसअघि अफ्रिकी देश विश्वकपको क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको थिएन।

मोरक्कोले सुरुमै गोल खाएपछि बराबरी गोलको खोजीमा बहादुरीपूर्वक खेलेको थियो। मोरक्कोको आक्रामक खेलले फ्रान्स समय–समयमा पूरा रूपमा डिफेन्सिभ हुन बाध्य भएको थियो। खेलको ४४औँ मिनेटमा जवाड एल यामिकले ओभरहेड किकबाट प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्किंदा पनि मोरक्कोलाई भाग्यले साथ नदिएको भान भयो। फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाँले पनि भन्नुभयो, “मोरक्कोविरुद्धको खेल सहज थिएन तर हामीले आफ्नो ‘क्वालिटी’, अनुभव र टिम भावना देखायौँ।”

मोरक्कोका लागि हारपछि पनि विश्वकप सकिएको छैन। मोरक्कोले शनिबार खलिफा इन्टरनेसनल रङ्गशालामा क्रोएसियाविरुद्ध तेस्रो स्थानका लागि खेल्नेछ। एपी