• ८ वैशाख २०८१, शनिबार

सम्बन्ध सुधार्ने सङ्घर्ष ‘सेनाको चेली’

blog

काठमाडौँ, पुस १ गते । ‘सेनाको चेली’ले मान्छेले नजानेर, थाहै नपाई विभिन्न गल्ती गरेको कुरालाई सुझाउँछ । मान्छे जीवनभर पश्चात्तापमा बाँच्नुपर्ने हुन्छ । वार्ता वा संवादले यस्तै समस्याको वास्तविकता उजागर गर्छ र हामीले आफ्नो सम्बन्ध र समयलाई बचाइराख्न सक्छौँ कि भन्ने कुरालाई लघु चलचित्र ‘सेनाको चेली’मार्फत प्रस्ट्याउन खोजिएको छ ।

चलचित्रमा शिशिर शान्ति सेनामा शान्ति स्थापना गर्न बाहिर जान लाग्छ तर उसको मनभित्र भएको अशान्तपनले भने उसलाई सधैँ पिरोलिरहेको हुन्छ । उसको कुनै कारणवश दिदी रीतासँगको सम्बन्ध बिग्रिएको हुन्छ र ऊ उक्त सम्बन्ध सुधारेर आफ्नो मनलाई शान्त पार्न चाहन्छ । दिदीसँग सम्बन्ध सुधार्न गरिएको सङ्घर्षलाई पनि चलचित्रमा उजागर गरिएको छ ।


इँगिहोपो कोइँच सुनुवारद्वारा लिखित तथा निर्देशित लघु चलचित्र ‘सेनाको चेली’ले हालै सम्पन्न २०औँ काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा स्पेसल जुरी मेन्सन अवार्ड हात पार्न सफल भयो । 

यस्तै चलचित्र नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८ मा प्रथम स्थान हासिल गर्न पनि सफल भएको थियो । त्यस्तै ब्राजिलको क्याम्पिनास फिल्म फेस्टिभल र पोखराको पामे फिल्म फेस्टिभलमा समेत चलचित्र छनोट भएको छ ।

चलचित्र निर्माणका लागि लगानी जुटाएर सुटिङ सम्पन्न गर्न निकै नै समस्या भएको निर्देशक सुनुवार बताउनुहुन्छ । “सिङ्क साउन्ड प्रयोग गर्ने भनिरहँदा त्यसको बजेटले धान्न सक्ने भएपछि हामीले डबिङ नै गर्ने निर्णय गरेका थियौँ,” उहाँले भन्नुभयो, “हामीले सीमित स्रोत साधनका साथ सुटिङ सम्पन्न गरेका थियौँ । सुटिङमा प्राविधिक समस्या पनि आएका थिए तर ती सबै समस्यालाई जित्दै हामीले चलचित्र सक्दो राम्रो बनाउने प्रयास ग¥यौँ र सफल भयौँ ।” 

किरण चाम्लिङ राई, सङ्गीता थापामगर, सदीक्षा शाह, आयान खड्का, मिलन कार्की, युवहाङ राई, सोनाम लामा, विकास पन्त, रोशनी स्याङ्बो, रिजन परियार, नवीन सुनुवार, मनोज म्याक्स, निर्भीक सुनुवारलगायतको चलचित्रमा अभिनय रहेको छ । यस्तै डीओपी तथा सम्पादनमा किरण राई, क्यामरा सहयोगीमा रिजन परियार, मेकअप आर्टिस्टमा मोहन सुनुवार, साउन्ड डिजाइन÷ब्याक ग्राउन्ड स्कोर/अडियो मिक्सिङ/गायनमा शिव मुखिया सुनुवार, फोली साउन्ड÷डबिङमा आशिष सुनुवार, निर्माण व्यवस्थापनमा मनोज म्याक्स, छायाङ्कन व्यवस्थापनमा विकास पन्त, कलर ग्रेडिङमा अनिल राना, सबटाइटलमा सन्देश शाक्य, कस्ट्युम तथा पहिलो सह–निर्देशनमा रोशनी स्याङ्बो साथै मुख्य सह–निर्देशनमा निर्भीक सुनुवारले साथ दिनुभएको छ ।