• ७ वैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्छ : ललितपुर नगरप्रमुख महर्जन

blog

काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै ललितपुर नगरप्रमुख चिरिबाबु महर्जन । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, मङ्सिर २९ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम ललितपुर नगर प्रमुख महर्जनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘काठमाडौं एउटा उपत्यका हो । यहाँ कुनैपनि पालिकाले स्वतन्त्र रूपले आफ्नै बल, बुताले सबै पालिकाहरूमा छुने किसिमको मेघा परियोजना गर्न गाह्रो पर्छ । काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसङ्ख्या छ । ३० लाख जनसङ्ख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ, अब यहाँ एक किसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ । तसर्थ यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडि बढौँ ।’’

यसैगरी, उहाँले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौैं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गर्नुभयो । ललितपुर नगर प्रमुख महर्जनले यसको निम्ति महानगरपालिकालाई अविलम्ब कदम चाल्न आग्रह गर्नुभयो ।

‘‘काठमाडौं महानगरपालिकाका प्रमुख समक्ष एउटा प्रस्ताव राख्न चाहन्छु, मैले ललितपुरमा त बाइसाइकल लेन बनाएँ । यो वर्ष अब ३० किलोमिटर थप्न गइरहेको छु । ललितपुरबाट काठमाडौंमा पनि जोडौँ ।,’’ ललितपुर नगर प्रमुख महर्जनले भन्नुभयो, ‘‘काठमाडौंले बुढानीलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदावरीको गार्डेनसम्म पुर्‍याउन पायौँ भने एकदमै राम्रो हुन्छ । यसको निमित्त गोदावरी नगरपालिकाले ललितपुर महानगरपालिकाको बोर्डरबाट बोडानिकल गार्डेनसम्म बनाउनका लागि बजेटको व्यवस्थापन गरिसकेको छ । तसर्थ, यता विलम्ब नहोस् भनेर मैले सुझाव दिएँ ।’’

उहाँले सार्वजनिक खरिद ऐन २०६३ को आमूल सुधार गर्नुपर्ने बताउनुभयो । सो ऐन स्थानीय पालिकाका लागि असाफसिद्ध रहको भन्दै यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उल्लेख समेत गर्नुभयो ।

यो पनि पढ्नुहोस

महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्छ : प्रमुख साह

काठमाडौं महानगर दिवस (फोटो फिचर)