• ८ वैशाख २०८१, शनिबार

म्याग्दीको दुर्गम सडक योजनाले गति लियो

blog

दरवाङ–धारापानी सडक योजनामा स्तरोन्नतिको काम गरिंदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर २९ गते । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति योजनाले गति लिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक अन्तर्गत दरबाङदेखि धारापानीसम्म सडक स्तरोन्नतिको कार्यले गति लिएको हो । 

ठेकेदार कम्पनीले सम्झौता समयभित्र योजनाको सबै काम सम्पन्न गर्न मजदुर र उपकरण परिचालन गरेको छ । साढे दुई वर्षअघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपियाँमा वहुवर्षीय ठेक्का लगाएर सडक स्तरोन्नतिको काम थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । 

गाउँपालिका जोड्ने सडकलाई स्तरोन्नति गरी कालोपत्रेको योजना अगाडि बढाउने उद्देश्यअनुसार योजना सञ्चालन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार योजनामा अहिलेसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको छ ।  

यसअघि निर्माण गरिएको साँघुरो सडकलाई फराकिलो बनाउने र घुम्ती मिलाएर सडक ग्राभेल गर्ने योजना रहेको उहाँले बताउनुभयो । यो सडक बेनी–दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत पर्छ । धवलागिरि गाउँपालिका ७ स्थित बादिकाका भिरमा साँघुरो र उकालो सडक भएका कारण दुर्घटना जोखिम थियो ।  

सडक चौडा पार्ने, बादिकाको उकालोमा भीर काटेर सडक फराकिलो बनाउने, साँघुरा घुम्तीलाई चौडा पार्ने, नाली, मेसेनरी वाल र ग्राभेल गर्नेगरी २०७६ चैत ४ गते पूर्वाधार विकास कार्यालयले धुलिखेल ब्राइट कुवर जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।  बादिकाको भीर भनेपछि आङै सिरिङ्ग हुने जोखिमयुक्त सडकले चिनिन्छ । नालीसहित ७ मिटर सडक फराकिलो बनाउने योजना रहेको कार्यालयले जनाएको छ ।  

निर्माण कम्पनीले दरवाङदेखि दाङ खोलासम्म सडक चौडा पारेर नाली र ग्यावियन झाली भर्ने काम गरेको छ । बादिकाको भीर काटेर सडक चौडा बनाइएको छ । गत वर्ष भीरको केही स्थानमा पहरा काट्न वाँकी रहेको स्थानमा यो वर्ष कटान गरिने कार्यालयले जनाएको छ । 

भीरमा साँघुरो सडक र घुम्तीका कारण सडक निकै जोखिमयुक्त थियो । दरबाङदेखि धारापानीसम्म ७ किलोमिटर सडक स्तरोन्नति गरी ग्राभेल गर्ने योजनाका साथ काम भइरहेको र आगामी चैत महिनासम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । 

अप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्र्याक खोलिएको उहाँले बताउनुभयो । अब धेरै ठाउँमा भीर काट्ने काम सकिएको  कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, ‘भीरको पुछारतिर केही भाग कटान गर्न बाँकी छ ।

अहिलेसम्म ८ करोड ९१ लाख रुपियाँ खर्च भइसकेको र चालु आर्थिक वर्षलाई चार करोड रुपियाँ गण्डकी प्रदेश सरकारले विनियोजन गरेको उहाँले बताउनुभयो । काम सम्पन्न भएपछि बाँकी रकम पनि प्राप्त हुने कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । 

बादिकाको अप्ठ्यारो भीरको करिब तीन सय मिटर सडक ढलान गर्ने योजनामा उल्लेख गरिएको छ । बेनी दरबाङ–मुना–लुलाङ–गुर्जा–ढोरपाटन सडक अन्तर्गत पर्ने यो खण्डको सडक स्तरोन्नति सम्पन्न भएपछि कालोपत्रे योजना अघि सारिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

यसैगरी, धारापानीदेखि मुनासम्म १३ किलोमिटर सडक स्तरोन्नतिका लागि डीपीआर तयार पारेर प्रदेशसँग योजना माग गरिएको उहाँले बताउनुभयो । दाङ खोलामा पक्की पुलको काम पनि यसै वर्षदेखि सुरु गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।