• १६ चैत २०८०, शुक्रबार

विहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु

blog

पटना, मङ्सिर २८ गते । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।

राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिई स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्री वितरणविरुद्ध अभियान चलाएपछि विहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो । प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन् । गैरकानुनीरूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । सारण जिल्ला राज्यको राजधानी पटनाबाट करिब ६० किलोमिटर उत्तरमा अवस्थित छ ।

अवैधरूपमा बनाइएको मदिरा सेवनबाट हुने मृत्युलाई भारतमा सामान्य  मानिन्छ । अवैधरूपमा उत्पादन हुने मदिरालाई कडा बनाउन कीटनाशकलगायत रसायन प्रयोग गरिन्छ । यसरी उत्पादित मादक पदार्थ कम मूल्यमा बिक्री हुने गरेको छ । कर छलेर अवैध तरिकाले उत्पादन गर्ने यो व्यवसाय लाभदायक उद्योग भएको छ ।

यो वर्षको प्रारम्भमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने ६० जना बिरामी भएका थिए । गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । सन् २०२० मा भारतको उत्तरी पन्जाब राज्यमा पनि विषाक्त मदिरा पिएर एक सय २० जनाले ज्यान गुमाएका थिए । रासस/एपी