• ७ वैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेश गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलया । तस्बिरः कविन अधिकारी

काठमाडौं, मङ्सिर २९ गते । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो । प्रमुख आयुक्त थपलियाका अनुसार देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिवार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गरिने कार्यक्रम छ । 

यसैबीच, राष्ट्रपति भवनले राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभामा निर्वाचित सदस्यहरुको विवरण पेश गर्नुभएको जनाएको छ । राष्ट्रपति भवनका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम ‘‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणामसहित प्रतिवेदन’’ गर्नु भएको उल्लेख छ ।