• १३ वैशाख २०८१, बिहिबार

विश्वकप उपाधिबाट एक खेल टाढा अर्जेन्टिना

blog

लुसैल, मङ्सिर २९ गते । खेलको समयमा लियोनेल मेसीले झुकेर आफ्नो बायाँ तिघ्रामा समात्दा अचानक विश्व फुटबलका प्रायः समर्थक चिन्तित बने। अर्जेन्टिनामा त आतङ्क नै फैलियो। सबैको डर आफ्ना सुपरस्टार मेसीको मांसपेशीमा खिचाव उत्पन्न भयो कि भन्नेमा थियो। जुन चोटले खेलाडीलाई केही खेलका लागि नै मैदानबाट बाहिर पठाउँछ। यसो भएमा क्रोएसियाको भाग्य हुने थियो।

तर मेसीले क्रोएसियाविरुद्ध खेल्दा त्यस्तो कुनै सङ्केत देखाएन। अझ मेसीले विश्वकपको सेमिफाइनलमा आफ्नो सर्वश्रेष्ठमध्येमा पर्ने प्रदर्शन गर्नुभयो। मेसीको प्रेरणादायी खेलको सहयोगमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएर विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनायो। अर्जेन्टिनाले अहिलेसम्म विश्वकप सेमिफाइनल हारेको छैन। अर्जेन्टिना छैटौँ पटक विश्वकपको फाइनलमा पुगेको हो। 

मेसी अहिले पहिलो पटक विश्वकप जित्ने अभियानमा छन्। ३५ वर्ष पुगिसकेका मेसीको यो सम्भवतः अन्तिम विश्वकप हो। त्यसैले पनि मेसीले चालू प्रतियोगितामा शानदार प्रदर्शन गरिरहनुभएको छ। मेसीले पेनाल्टीमा गोल गर्नुभयो। अन्य दुई गोल जुलियन अल्भारेजको नाममा रह्यो। यद्यपि अल्भारेजले गरेका दुवै गोल पनि मेसीको पासमा सम्भव भएका थिए। मेसीले जितपछि भन्नुभयो, “अहिले मेरो मनमस्तिष्कमा धेरै कुरा चलिरहेको छ। यस्तोमा फाइनलमा पुग्नु भावना व्यक्त गर्न सकिन्न। हामी फाइनल पुगेका छौँ, जुन हामीले चाहेका थियौँ।”

मेसीको यो दोस्रो विश्वकप फाइनल हो। सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा गोल बेहोरेर पराजित भएपछि मेसी विश्वको सबैभन्दा ठूलो प्रतियोगिताको ट्रफी उचाल्नबाट वञ्चित हुनुभएको थियो। क्रोएसिया हारसँगै लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्ने गौरवबाट वञ्चित भयो। पाँच मिनेटको अन्तरले दुई गोल बेहोरेपछि अर्जेन्टिनालाई सुरुको आधा घण्टा टक्कर दिएको क्रोएसियाको लय बिग्रियो।

खेलको ३४औँ मिनेटमा डोमिनिक लिभाकोभिचले अल्भारेजलाई डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। मेसीले नै सो पेनाल्टीको सदुपयोग गर्नुभयो। पाँच मिनेटपछि अल्भारेजले मेसीले पास दिएको बल प्राप्त गरी मैदानको करिब मध्यभागबाट बल लगेर दर्शनीय गोल गरेर स्कोर २–० बनाउनुभयो। अर्जेन्टिनाले लगातार पाँच खेलमा दुई गोलको अग्रता बनाएको हो। त्यसपछि ६९औँ मिनेटमा मेसीको स्तरीय पासमा अल्भारेजले अर्को गोल गरेर क्रोएसियाको हार पक्का गर्नुभयो।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेसीलाई प्रशिक्षण दिनु नै आफ्ना लागि गर्वको विषय हो भन्नुभयो। उनको खेलले आफ्नो टिमलाई ठूलो प्रेरणा दिन्छ, उहाँले भन्नुभयो। क्रोएसियाका प्रशिक्षक ज्लाट्को डाचिलले पहिलो गोलले खेलको दिशा परिवर्तन गरेको भन्दै मेसीले पनि आफ्नो छविअनुरूप प्रदर्शन गरेकाले क्रोएसिया हारेको प्रतिक्रिया दिनुभयो।

कतार विश्वकपमा अर्जेन्टिना पहिलो खेलमै तुलनात्मक रूपमा कमजोर मानिएको साउदी अरबसँग २–१ ले स्तब्ध भएको थियो। जुन विश्वकपकै इतिहासमै सर्वाधिक स्तब्धकारी हारमध्ये एक थियो तर त्यसपछि अर्जेन्टिना वास्तविक दाबेदारका रूपमा प्रस्तुत भइरहेको छ। मेसी हरेक खेलमा चम्किएपछि अर्जेन्टिनालाई फाइनलमा पनि रोक्न कठिन देखिएको छ। मेसीले पहिलो खेल हारे पनि अर्जेन्टिना अगाडि बढ्नेमा आफ्नो टिमको विश्वास थियो भन्नुभएको छ।

मेसीको कीर्तिमान

क्रोएसियाविरुद्ध गोल गरेर मेसी अर्जेन्टिनाका विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नुभएको छ। यस विश्वकपमा पेनाल्टीमा तेस्रो गोल गरेपछि उहाँको कुल विश्वकप गोल सङ्ख्या ११ पुगेको छ। जुन अर्जेन्टिनाका पूर्वफरवार्ड गाब्रियल बाटिस्टुटाको भन्दा एक गोल बढी हो।  क्रोएसियाविरुद्ध खेलेर मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लोथार म्याथ्युजको कीर्तिमानको बराबरी गर्नुभएको छ। यी दुवै खेलाडीले विश्वकपमा समान २५ खेल खेलेका छन्।

यस विश्वकपमा मेसीले छ खेलमा पाँच गोल गरिसक्नुभएको छ । फ्रान्सका किलियन एमबापेको गोल सङ्ख्या पनि पाँच नै छ। यद्यपि मेसीको एसिस्ट सङ्ख्या बढी छ। एपी