• १६ चैत २०८०, शुक्रबार

काम रोकिएपछि ठेकेदारलाई कारबाही माग

blog

रङ्गेली समाचारदाता 

विराटनगर, मङ्सिर २९ गते । दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने गरी सम्झौता भएको सडकको काम रोकिएपछि ठेकेदारलाई कारबाही माग गर्दै सुनसरीको वराह क्षेत्रका स्थानीयले प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। 

वराह क्षेत्रको महेन्द्रनगर र धरान जोड्ने १३.७ किलोमिटर सडक २०७८ भदौ १२ गते सम्पन्न हुनुपर्ने थियो। आर्थिक वर्ष २०७५/७६ को बजेटअन्तर्गत २०७६ भदौ १२ गतेदेखि निर्माण सुरु गर्ने सम्झौता ठेकेदार कम्पनीसँग भएको थियो। लुम्बिनी गजुरमुखी जेभीले ३७ करोड २३ लाखमा ठेक्का पाएको सडकको काम सुस्त भएको भन्दै स्थानीयले मङ्गलबार मन्त्रालयको ध्यानाकर्षण गराउँदै कारबाहीको माग गरेका हुन्। 

वराह क्षेत्र नगरपालिका अन्तर्गत महेन्द्रनगर, बाङ्गे, हर्दिया, कालाबन्जार, तीनकुने, भलुवाचौरी हुँदै धरानसम्मको दूरी निर्माणाधीन सडकले तय गर्दछ। ठेकेदारसँग सम्झौता हुँदा दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि कोभिड–१९ सङ्क्रमणका कारण सरकारले एक वर्ष म्याद थप गरेको थियो। सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधनपछि सडक निर्माणको म्याद २०८० असार १२ गतेसम्म थपिएको छ। 

म्याद थप भएको अवधिमा समेत सडक निर्माणको सम्भावना नदेखिएपछि आजित भएका स्थानीयले मन्त्रालयको ध्यानाकर्षण गराउन वराह क्षेत्रबाट गाडी नै रिजर्भ गरेर विराटनगर आएका थिए। वराह क्षेत्र नगरपालिका–५ का कालिदास रेग्मीले सम्झौताअनुसार काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने सरकारी संयन्त्रको समेत मिलेमतो देखिएको आरोप लगाउनुभयो। 

अर्का स्थानीय देवेन्द्र विष्टका अनुसार सम्झौताअनुसारको १३ किलोमिटरमध्ये छ किलोमिटर दूरीमा ड्रेन, पर्खाल, सडक बेसको काम गरिएको छ। त्यसबाहेक सात किलोमिटर दूरीको काम थालिएको छैन। छ किलोमिटर दूरीमा प्रारम्भिक चरणको काम सकेपछि असारयता ठेकेदार पुनः फर्केका छैनन्। 

सडक सेवा क्षेत्रका नागरिकले मन्त्रालयका सचिव अशोककुमार साहलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रसमेत बुझाएका छन्। सचिव साहले बारम्बार ठेकेदारलाई पत्राचार गर्दा समेत नटेरेकाले अब कालोसूचीमा राख्ने प्रक्रिया थाल्ने आश्वासन दिनुभएको छ। सम्झौता भएका ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ प्रक्रियाको थालनी गर्दा उक्त सडकको काम सुरु हुन छ महिनाभन्दा बढी लाग्नेछ। 

सडकको सेवा क्षेत्रभित्र छवटा विद्यालय रहेका छन्। सरकारी र निजी विद्यालयमा आउजाउ गर्ने विद्यार्थीले दैनिक धुलोमा रुमल्लिनु परेको गुनासो छ। वराह क्षेत्र १ घर भई जडेजा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी दिनेश खत्रीले सरकारी बजेटमा निर्माण भइरहेको सडकको काममा ठेकेदार हाबी भएको देख्दा आफैँलाई छक्क लागेको बताउनुभयो। उहाँले सर्वसाधारणले सास्ती पाइरहेको देख्दादेख्दै ठेकेदारले काम नगरेकोले तत्काल कारबाही गरेर नयाँ प्रक्रियाको थालनी गर्नुपर्ने बताउनुभयो।