• १३ वैशाख २०८१, बिहिबार

कोलकाता महोत्सवमा नेपाली सुन्तला

blog

विष्णुप्रसाद पोखरेल 

दमक, मङ्सिर २९ गते । हिमालय भेगको ग्रामीण पर्यटन प्रवद्र्धन र सुन्तला खेतीको प्रवद्र्धनका लागि भारतको कोलकातामा भएको पाँचौँ हिमालयन सुन्तला महोत्सव अपेक्षाअनुसार सफल भएको छ।

पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौँ ठूलो बन्दरगाहका रूपमा रहेको कोलकातामा भएको महोत्सवमा राज्य सरकारका उच्च अधिकारीको उपस्थितिले पनि यसको महत्वलाई धेरै बढाएको महोत्सवमा नेपालतर्फबाट संयोजनको भूमिका खेल्नुभएका अर्जुन कार्कीले बताउनुभएको छ।

मङ्सिर २३ गतेदेखि २५ गतेसम्म भएको महोत्सवसँगै मानव, हात्ती द्वन्द्व कम गर्ने, नेपालको पूर्वी क्षेत्रलाई कृषि, धार्मिक र जैविक पर्यटनसँग जोडेर लैजाने विषयमा छलफल भएको पनि उहाँले जनाउनुभएको छ। भारतीय पक्षले कसरी सँगसँगै यस विषयमा अघि बढ्न सकिन्छ भनेर लिखित रूपमा माग गरेकाले तत्कालै आफूहरूले यस विषयमा लिखित रूपमा त्यो उपलब्ध गराउने समेत कार्कीको भनाइ छ।

नेपाल र भारतको पर्यटन प्रवद्र्धनसँगै सुन्तला खेती प्रवद्र्धनका लागि महोत्सवको संयोजनकारी भूमिका खेल्नुभएका राज बासुका अनुसार दक्षिण एशियाकै सबैभन्दा ठूलो ग्रामीण पर्यटन महोत्सवको रूपमा यसलाई निरन्तरता दिइएको छ। नेपाल र भारतका दुई हजार आठ सयभन्दा बढी ‘होमस्टे’ को प्रतिनिधित्व भएको बासुले जनाउनुभयो। १७ सय भन्दा बढी सांस्कृतिक झलकहरू यहाँ देखाइएको उहाँको भनाइ छ। महोत्सवमा सुन्तलामात्र नभएर अलैँची, छुर्पी, एभोकाडोलगायतका करिब दुई हजार ग्रामीण उत्पादनहरू प्रदर्शन र बिक्रीका लागि राखिएको उहाँले दाबी गर्नुभयो।

ग्रामीण पर्यटनका लागि सर्वसाधरण पहुँच वृद्धि गर्नका लागि यो फलदायी बनेको समेत बासुको भनाइ छ। सन् २०१४ मा सुरु गरिएको महोत्सवबीचमा कोरोनाका कारण निर्धारित समयमा हुन सकेको थिएन। भारतको हिमालयसँगै नेपालको हिमालयलाई कृषिमा जोड्न यसले टेवा पुगेको छ, बासुले भन्नुभयो।

कोलकातामा रहनुभएका नेपालका महावाणिज्य दूत एकनारायण अर्यालका अनुसार यो महोत्सवले ग्रामीण पर्यटन प्रवद्र्धनमात्र नभएर नेपालको सांस्कृतिक पहिचान र प्रर्वद्धनलाई समेत ठूलो टेवा मिलेको छ। तीन दिनको समयमा नेपालका सांस्कृतिक पहिचानलाई भारतमा प्रस्तुत गरिएको छ।

होटल व्यवसायी महासङ्घ प्रदेश १ का अध्यक्ष राजन दङ्गालका अनुसार यस प्रकारको महोत्सवले पूर्वी नेपालको पर्यटनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। 

(कोलकाताबाट फर्केर आएपछि)