• १४ वैशाख २०८१, शुक्रबार

सबै खाले विभेदविरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सबै खाले विभेदविरुद्ध एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको बुधबार काठमाडौंमा आयोजित आठौँ राष्ट्रिय महाधिवेशनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री रेग्मीले भन्नुभयो, “पितृसत्तात्मक, अन्धविश्वास, रूढिवादी सामन्तवाद अझै हाबी छ । यसका लागि महिलाहरू एकजुट भई अधिकारका लागि लड्नुपर्छ । समाजका नश्लीय, लैङ्गिक सबैखाले विभेदविरुद्ध एकजुट हुनुपर्छ ।” उहाँले यो कुरा जातिको विषयमा जोडिदा आन्दोलन कमजोर हुने धारणा राख्नुभयो । आदिवासी जनजाति महिलाले पाएको प्राप्त अधिकारलाई रक्षा गर्नुपर्ने उहाँको भनाइ छ । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिलाका विषयमा समय–समयमा सरकारको ध्यानाकर्षण गराइँदै आएको उल्लेख गर्नुभयो । उहाँले आदिवासी जनजाति महिलामा विशेष खाले सीप र अनुभव रहेको बताउनुहुँदै यो एकापसमा आदानप्रदान हुनुपर्ने बताउनुभयो ।


पराजुलीले भन्नुभयो, “म आदिवासी जनजाति समुदायबीचमा अल्पसङ्ख्यक जस्तै भएर हुर्केको हुँ । आदिवासी जनजाति महिलामा विशेषखालको ज्ञान, सीप, अनुभव छ । गैर आदिवासी जनजाति समुदायले पनि त्यो थाहा पाउनुपर्‍यो ।” जति अन्तरघुलन हुन सक्यो उति सामाजिक विकास हुने भनाइ उहाँले राख्नुभयो ।

आयोगमा आदिवासी जनजाति, दलित, अल्पसङ्ख्यक, कर्णाली, अपाङ्गता भएकाहरूको प्रतिनिधित्व अझै हुन नसकेको बताउनुभयो । “भौतिक रूपमा उहाँहरूको प्रतिनिधित्व छैन । अनेकन् संस्कृति छन् । एक–अर्काको संस्कृति आदानप्रदान गर्नुपर्छ । जसको सवाल उसको नेतृत्व भन्ने हुन्छ, आयोग महासङ्घ सँगसँगै रहन्छ” उहाँले भन्नुभयो । राजनीतिक क्षेत्रमा लक्षित वर्गका लागि उठाइएको समानुपातिक समावेशिताको सवाल कार्यान्वयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासङ्घका संस्थापक अध्यक्ष स्टेला तामाङले घर, समाज र पुर्खाले महिलालाई विगतदेखि जुन अधिकार दिएको थियो, सो अधिकार स्थापित गर्नुपर्ने आजको आवश्यकता रहेको विचार राख्नुभयो । पहिला माध्यमिक शिक्षा हासिल गरेका महिला निकै कम भेटिने गरेकोमा आज त्योभन्दा धेरै सकारात्मक परिवर्तन हुँदैआएको उहाँले चर्चा गर्नुभयो । 

महासङ्घका वर्तमान अध्यक्ष चिनिमाया माझीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सबैमा सधन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा आदिवासी जनजाति महिलाका सवालमा योगदान पुर्‍याउँदै आएका बमकुमारी बुढा मगर, शान्ति कुमारी राई, सोनि लामा, शान्ति जिरेल, सोमा राई, रामप्यारी सुनार, प्राध्यापक डा. कृष्ण भट्टचन, परशुराम तामाङ, शङ्कर लिम्बु, प्रतिमा गुरुङ र सञ्जाकुमारी दनुवारलाई पुरस्कृत गरिएको थियो । यसैगरी, माझी, सुनुवार, नेवार, शेर्पा, ह्योल्मो, मगर समुदायले सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।