• १५ चैत २०८०, बिहिबार

ज्येष्ठ नागरिकद्वारा विद्यालयलाई पाँच रोपनी जग्गा प्रदान

blog

विद्यालयलाई निःशुल्क जग्गा सहयोग गर्नुहुने ज्येष्ठनागरिक सिंहबहादुर बुढा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, मङ्सिर २८ गते । एक जना ७५ वर्षका ज्येष्ठ नागरिकले विद्यालयलाई निःशुल्क जग्गा सहयोग गर्नुभएको छ । जग्गाको अभाव खेपिरहेको विद्यालयलाई नयाँ भवन निर्माणका लागि सहज बनाउन उहाँले जग्गा सहयोग गर्नुभएको हो । 

सिमकोट गाउँपालिका – ८ का वडा अध्यक्ष कमल बुढाका अनुसार स्याँडा गाउँका ज्येष्ठ नागरिक सिंहबहादुर बुढाले पाँच रोपनी जग्गा विद्यालयलाई निःशुल्क सहयोग गरेको बताउनुभयो । गाउँकै सैपाल माध्यमिक विद्यालयलाई उहाँले सो जग्गा उपलब्ध गराउनुभएको हो । जग्गा अभावमा विद्यालयले नयाँ भवन बिस्तार गर्न नसकेको समयमा बुढाले निःशुल्क जग्गा दिएर विद्यालयलाई ठूलो गुन लगाउनुभएको बताउनुभयो ।

जग्गा विद्यालयसँगै जोडिएको छ । वडा अध्यक्ष बुढाले विद्यालयले सो जग्गा खरिद गर्ने तयारीमा रहेका बेला उहाँले जग्गा निःशुल्क सहयोग गर्नुभएका कारण सहज भएको बताउनुभयो । सो जग्गा विद्यालयका नाममा नामसारी समेत भइसकेको छ । 

जग्गा दिएपछि बुढाले विद्यालय सबैको साझा स्थान भएकाले मनैदेखि निःशुल्क दिने इच्छा भएका कारण विद्यालयलाई सो जग्गा उपलब्ध गराएको बताउनुभयो । सहयोग गरिएको जग्गामा विद्यालयको भवन बन्न सकेमा विद्यार्थीलाई पठनपाठनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।