• ६ चैत २०८०, मङ्गलबार

नागरिकता अभावमा जापान पढ्न जान नपाएपछि चिया पसल

blog

धनुषाको ढल्केवरमा चिया पकाउँदै चन्दनकुमार चौधरी । तस्बिर : गोरखापत्र

विजयकुमार साह 

ढल्केबर, मङ्सिर २८ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका २१ वर्षीय युवा चन्दनकुमार चौधरीको जापान गएर कम्प्युटर साइन्समा दक्षता हासिल गर्ने धोको थियो । कम्प्युटर साइन्स विषय लिएर १२ कक्षा पास गर्नुभएका उहाँ नागरिकता अभावमा उच्च शिक्षा हासिल गर्न जापान जान पाउनुभएन । 

स्थानीयस्तरमा पढाइअनुसारको जागिर पाए पनि नागरिकता समस्याका कारण जागिरबाट वञ्चित भएका चौधरी धनुषाको ढल्केबर चौकमा चिया पसल खोल्नुभएको छ । उहाँ त्यही चिया पसलमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ । 

बुबाको जन्मसिद्ध नागरिकता भएको कारण आफ्नो नागरिकता बन्न नसकेको चौधरीले सुनाउनुभयो ।  उहाँले भन्नुभयो, ‘‘विवश भएर चिया पसल खोलेको हुँ । नागरिकता बन्ने अझै छाँटकाँट छैन । त्यसै बरालिएर बस्नुभन्दा आयआर्जनका लागि तीन महिनाअघि चिया पसल सञ्चालनमा ल्याएको हुँ ।’’

जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन बनेको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि नागरिकता पाउने र ढिलै गरेर भए पनि जापान जान पाउने आशा पलाएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सबै आशा निराशामा बदलियो । 

बुवा भोला चौधरीको जन्मसिद्ध नागरिकता छ । आमा सरिताकुमारी चौधरीको वंशज । त्यस्तै हजुरबुवा बर्दी चौधरीको जन्मसिद्ध र हजुरआमा मिना देवीको वंशज । हजुरबुवाको जन्मसिद्ध नागरिकता भएपछि बुवाले वंशजको नागरिकता पाउनुपर्ने थियो ।

तर, २०६३ सालमा खटिएको नागरिकता टोलीले बुवालाई वंशजको नागरिकता नदिएर जन्मसिद्धको नागरिकता दियो । नागरिकता टोलीको त्रुटिका कारण मलगायत सबै भाइ बहिनी अहिले दुःख पाइरहेका छौं, चौधरीले दुखेसो पोख्नुभयो । 

आफ्नो नाममा मोबाइलको सिमकार्ड पनि छैन । आमाको नामबाट सिमकार्ड निकालेर प्रयोग गरिरहेको छु । सवारी चालक अनुमतिपत्र पनि छैन । काम विशेषले बाहिर जाँदा पनि ट्राफिक प्रहरीले रोकेर लाइसेन्स माग्छन् । कहाँबाट ल्याएर दिनु । समस्या सुनाउँदा कतिपयले बुझ्नुहुन्छ नभए जरिवाना काट्नुहुन्छ । 

जन्मदर्ताको आधारमा कक्षा १२ सम्मको पढाइ गरे पनि उच्च शिक्षा अध्ययनका लागि नागरिकता चाहिन्छ । नागरिकता नभएर पढ्नबाट वञ्चित धेरै युवा मजस्तै चिया पसल खोल्न र सानोतिनो काम गरेर बस्न बाध्य छन् ।

नागरिकताविहीन सङ्घर्ष समितिका महासचिव जितेन्द्रकुमार कुशवाहाले संविधानबमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नाममा नागरिकता नपाउँदा आफूहरु राज्यविहीन हुन पुगेको बताउनुभयो । देशभरिमा करिब छ लाखभन्दा बढी नागरिकताविहीनको सङ्ख्या रहेको बताउँदै अब बन्ने नयाँ सरकारलाई नागरिकता समस्याप्रति गम्भीर बन्न आग्रह गर्नुभयो । 

स्नातक तहमा अध्ययन गर्नका लागि नागरिकता चाहिन्छ । नागरिकता नभएर पढ्नबाट वञ्चित हुनुपर्दा जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाका सन्तानहरु मानसिक समस्याका सिकार हुँदै गएका छन् । 

रोजगारी पाउँदैनन् । रोजगारी नपाएपछि चन्दन चौधरीजस्तै चिया पसल गर्ने र तल्लो तहको काम गर्न विवश छन्, महासचिव कुशवाहाले भन्नुभयो । उहाँले भन्नुभयो नागरिकताविहीनको समस्या भनी साध्य छैन । थुप्रै समस्या छन् । चन्दनजस्ता देशमा लाखौं पात्र छन् ।