• १२ वैशाख २०८१, बुधबार

भूकम्पमा क्षति पुगेका दुई दर्जन स्वास्थ्य संस्थाको पुनर्निर्माण धमाधम

blog

भूकम्पपछिको पुनर्निर्माणअन्र्तगत निर्माण भइरहेको खोपासी स्वास्थ्य चौकीको भवन । तस्बिर सौजन्य : इन्जिनियर निकाश रेग्मी

केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, मङ्सिर २७ गते । 
वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेका काभ्रेपलाञ्चोक जिल्लाका दुई दर्जन स्वास्थ्य संस्था पुनर्निर्माणको कामले गति लिएको छ । भूकम्पबाट क्षति भएका जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २६ वटा स्वास्थ्य संस्थाको भवन पुनर्निर्माणको काम भइरहेको हो । 

सघन सहरी तथा भवन निर्माण आयोजना काठमाडौंका अनुसार भूकम्पबाट क्षति भएका काभ्रेपलाञ्चोकका २६ वटा स्वास्थ्य संस्थामध्ये १४ वटा नेपाल सरकार र १२ वटा स्वास्थ्य संस्था भारत सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ । भारत सरकारको सहयोगमा जिल्लाको महाभारत गाउँपालिकामा रहेको वनखु स्वास्थ्य चौकीको भवन निर्माण गरिने भए पनि जग्गा विवादका कारण उक्त स्वास्थ्य चौकीको भवन पुनर्निर्माणको काम भने सुरु नै हुन नसकेको आयोजनाका इन्जिनियर निकास रेग्मीले जानकारी दिनुभयो ।

उहाँले निर्माणाधीन स्वास्थ्य संस्थामध्ये भारत सरकारको सहयोगमा निर्माण भएको नाला स्वास्थ्य चौकी र चण्डेनीमण्डन स्वास्थ्य चौकी हस्तान्तरणको चरणमा रहेको बताउनुभयो । उहाँले यी दुई स्वास्थ्य चौकीको भवनको सबै काम सकिए पनि भवन बाहिरको पर्खाल र आँगनमा ब्लक ओछ्याउने काम बाँकी रहेको बताउनुभयो । रेग्मीले निर्माणाधीन स्वास्थ्य चौकीका भवनमध्ये जिल्लाको महाभारत गाउँपालिकाको गोकुले स्वास्थ्य चौकी भवनको फिनिसिङ, साल्धारा स्वास्थ्य चौकीको दोस्रो ढलान, फलामेटार स्वास्थ्य चौकीको पहिलो ढलानको काम भइरहेको जानकारी दिनुभयो ।

यसैगरी, जिल्लाको पनौती स्वास्थ्य चौकीको भवनमा रङ्गरोगन गर्ने, फोक्सिङटार स्वास्थ्य चौकीको प्लाष्टरको काम भइरहेको बताउनुभयो । जिल्लामा निर्माणाधीन स्वास्थ्य चौकीको ६० प्रतिशत काम सम्पन्न भएको रेग्मीको भनाइ छ । उहाँले भारत सरकारको सहयोगमा निर्माण भइरहेका दुई स्वास्थ्य चौकीको निर्माणको समय पुस मसान्तमा सकिन लागेकाले म्याद थपको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

भूकम्पबाट क्षति भएका स्वास्थ्य संस्थामध्ये नेपाल सरकारको सहयोगमा दोलालघाट स्वास्थ्य चौकी, रविओपी, महेन्द्रज्योती, चापाखोरी, ढुङ्खर्क, खरेलथोक, खनालथोक, सिसाखानी, अनैकोट, महादेवटार, मथुरापाटी र सरमथली स्वास्थ्य चौकीको भवन पुनर्निर्माण भइरहेको छ । नेपाल सरकारको सहयोगमा पुनर्निर्माण भएको ठूलोपर्सेल स्वास्थ्य चौकी र सिम्थली स्वास्थ्य चौकीको भवन हस्तान्तरण भई सञ्चालनमा आइसकेको आयोजनाले जनाएको छ ।

यस्तै, भारत सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाको चण्डेनीमण्डन स्वास्थ्य चौकी, खोपासी, नाला, फोक्सिङटार, साल्धारा, फलामेटार स्वास्थ्य चौकीको भवन र दोस्रो चरणमा धुलिखेल आयुर्वेद, पनौती स्वास्थ्य चौकी टौखाल, गोकुले, मिल्चे, चौरीदेउराली र बनखुचौर स्वास्थ्य चौकी निर्माण भइरहेको छ । भारत सरकारले पहिलो चारणका भवन निर्माणका लागि १९ करोड ७० लाख र दोस्रो चरणका भवन निर्माणका लागि १९ करोड ७० लाख रुपियाँ सहयोग उपलब्ध गराएको छ । काभ्रेका स्वास्थ्य चौकी भवन पुनर्निर्माणका लागि करिब ५७ करोड रुपियाँ खर्च हुने सघन सहरी तथा भवन निर्माण आयोजना काठमाडौंले जनाएको छ ।