• ७ वैशाख २०८१, शुक्रबार

नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण

blog

नवनिर्मित प्रशासकीय भवनका उद्घाटन गर्नुहुँदै प्रदेशमन्त्री हाङ्गाम । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २६ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको आफ्नै प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका स्थापना भएको करिब नौ वर्षपछि आफ्नै प्रशासकीय भवन निर्माण भएको हो । 

फुङ्लिङ नगरपालिका –७ दोखुको गैरीगाउँमा निर्माण भएको प्रशासकीय भवनको सोमबार प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उद्घाटन गर्नुभयो ।  प्रशासकीय भवनको उद्घाटन गर्नुहुँदै प्रदेशमन्त्री हाङ्गामले ढिलै भए पनि फुङ्लिङ नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणपछि सेवाग्राहीले सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।  

स्थानीय सरकारको रूपमा रहेको नगरपालिकाले सेवाग्राहीलाई प्रत्यक्ष सरकारको अनुभूति हुनेगरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । फुङ्लिङ नगरपालिका मात्र नभई जिल्लाका नौ वटै स्थानीय तह र ६१ वटै वडाको आफ्नै कार्यालय भवन हुनु पर्नेमा जोड दिनुभयो । 

यस्तै, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले आफ्नै प्रशासकीय भवन निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो । आफ्नै प्रशासकीय भवन बनेकाले अब सुशासन र सहज रूपमा सेवा प्रवाह हुनेमा आफू ढुक्क रहेको पनि नगर प्रमुख मादेनले बताउनुभयो ।  नगरवासीको हितलाई ध्यानमा राखेर नगरप्रमुखको हैसियतले आफू काममा लागिपर्ने र सबैलाई अनुभूत हुनेगरी काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । 

प्रशासकीय भवन पाँच रोपनी क्षेत्रफल बराबरको जग्गामा निर्माण गरिएको फुङ्लिङ नगरपालिकाका सूचना अधिकारी भूपालकुमार सेन्दाङले जानकारी दिनुभयो । प्रशासकीय भवन निर्माण प्रक्रिया २०७२ तिर नै सुरु भएको भए पनि यस वर्ष मात्र निर्माण सम्पन्न भएको सूचना अधिकारी सेन्दाङले बताउनुभयो । उहाँका अनुसार २८ वटा कोठा भएको चार तले प्रशासकीय भवन कुल सात करोड ९६ लाख रुपियाँमा निर्माण भएको हो । 

नव–निर्मित प्रशासकीय भवनको उद्घाटन भएसँगै सोही भवनबाट सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिनुभयो । अब दुई दिनभित्र कोठा तथा फर्निचर व्यवस्थापनको काम सक्ने र त्यसपछि नयाँ प्रशासकीय भवनबाट नै नगरपालिकाको सबै काम सम्पादन सुरु गर्ने उहाँले बताउनुभयो ।