• ८ वैशाख २०८१, शनिबार

प्रदेश सभाको नतिजा पुस २ गते बुझाइने

प्रतिनिधि सभाको नतिजा मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष पेश गरिने

blog

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर २६ गते । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मङ्सिर २९ गते बिहीबार पेश गर्ने तयारी गरेको छ । 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै भन्नुभयो, ‘‘मङ्सिर ४ गते आइतबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित सदस्यहरूको विवरण आयोगले मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ, त्यसै अनुसार कार्यहरू भइरहेका छन् ।’’ 

आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या उनीहरूलाई पठाइसकेको छ । आजसम्म सच्याएर आयोगमा पेश गर्न समय तोकेको छ । दलहरूले विवरण बुझाएपछि आयोगले सबै विवरण तयारी कानुन अनुसार निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ । 

प्रमुख आयुक्त थपलियाका अनुसार, आयोगले समानुपातिकतर्फको सदस्यहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले भोलि (मङ्गलबार) पत्रकार सम्मेलनको आयोजना गर्दैछ । आयोगले राष्ट्रपतिसमक्ष निर्वाचित सदस्यहरूको विवरण पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्ने र नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ । 

प्रदेशको नतिजा पुस २ मा बुझाइने

देशका सातवटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिबार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गरिनेछ । त्यसको लगत्तै आयोगले पत्रकार सम्मेलन गरेर त्यसको जानकारी पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।