• १६ चैत २०८०, शुक्रबार

एउटै वडाबाट तीन सांसद बन्दै

blog

जयमान बुढामगर

रुकुमपूर्व, मङ्सिर २६ गते ।  पुथाउत्तरगङ्गा गाउँपालिका–१० को एउटै वडाबाट तीन जना सांसदका लागि चयन हुनुभएको छ। उहाँहरू फरक–फरक पार्टीबाट समानुपातिक सांसदमा सिफारिस हुनुभएको हो। 

नेपाली कांग्रेसबाट आदिवासी जनजाति महिलातर्फ प्रतिनिधि सभाको समानुपातिकबाट कुसुमदेवी थापा बुढामगर, नेकपा (माओवादी केन्द्र)बाट आदिवासी जनजाति महिलातर्फ लुम्बिनी प्रदेश सभाको समानुपातिकमा दिलकुमारी बुढामगर र नेकपा (एमाले)बाट आदिवासी जनजाति महिलातर्फ लुम्बिनी प्रदेश सभाको समानुपातिकमा सरिका पुनमगर सांसदका लागि अन्तिम सिफारिसमा पर्नुभएको हो। उहाँहरू तीनै जना पुथाउत्तरगङ्गा–१० निवासी हुनुहुन्छ। समानुपातिकबाट तीन र प्रत्यक्ष तीन गरी यस पटक जिल्लाले छ जना सांसद पाउँदैछ। तीन गाउँपालिका रहेको यस जिल्लामा छ सांसदमध्ये चार जना पुथाउत्तरगङ्गा गाउँपालिकाका हुनुहुन्छ भने एक/एक भूमे र सिस्ने गाउँपालिकाका हुनुहुन्छ। पुथाउत्तरगङ्गा–१० का तीन समानुपातिक सांसद र प्रदेश सभा प्रत्यक्षतर्फ सोही गाउँपालिकाको वडा नं. १ का सुरुल पुनमगर स्वतन्त्रबाट निर्वाचित हुनुभएको हो। 

प्रत्यक्ष प्रदेश सभा क्षेत्र नं. २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका धनबहादुर केसी (सिस्ने गाउँपालिका–७), प्रत्यक्ष प्रतिनिधि सभाबाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर (भूमे गाउँपालिका–९)का हुनुहुन्छ।