चुनावी प्रचारको होडमा दलहरू

 gorkarnaगोकर्ण अर्याल
 

 

 प्रदेशसभा र प्रतिनिधिसभाको मिति नजिकिएसँगै उम्मेदवारहरूले आ– आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् ।  पहिलो चरणको निर्वाचनको समय आउन दुई साता पनि बाँकी छैन भने दोस्रो चरणका लागि करिब तीन साताभन्दा केही बढी समय बाँकी छ ।  प्रथम चरणमा मङ्सिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्र छन् भने दोस्रो चरणमा  मङ्सिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्र रहेका छन् ।  यतिबेला उम्मेदवारहरू मतदाता रिझाउन भ्याइ नभ्याइको स्थितिमा छन् ।  उम्मेदवारका समर्थक र दलका कार्यकर्ता पनि आफूले समर्थन गरेका उम्मेदवारको पक्षमा वातावरण बनाउन सक्रिय र क्रियाशील  देखिएका छन् ।  यतिबेला कतिपय उम्मेदवारको प्रचार प्रसारको प्रमुख माध्यमका रूपमा  सामाजिक सञ्जाल  बनिरहेको छ ।  यसले गर्दा पहिले जस्तो भित्तेलेखन गर्ने, होर्डिङ बोर्ड, तुल व्यानर राख्ने पोष्टर टाँसेर ठाउँ बस्ती विरूप बनाउने कार्यमा कमी गराएको छ, यस हिसाबले यो सकारात्मक पक्ष रहेको छ ।   सामाजिक सञ्जाल मार्फत् आफ्नो समूह वा दलले निर्वाचनमा प्राप्त गर्ने मत र सिट सङ्ख्या दाबी समेत प्रस्तुत हुने गरेका छन् ।  यसबाट सामाजिक सञ्जाल प्रयोग कर्ताले दलहरूको दाबी र यथार्थ जे भए पनि सूचना र मनोरञ्जन  दुवै प्राप्त गरिरहेका छन् ।  सहर केन्द्रित उम्मेदवार मतदातालाई आकर्षित गर्न घर दैलो गर्दै गरेका र कोणसभा मार्फत् प्रस्तुत भइरहेका विषय यस्ता सञ्जालहरूमा छाइरहेका देखिन्छन् भने त्यसबाहेक अन्य क्षेत्रका उम्मेदवारले पनि धेरथोर रूपमा सामाजिक सञ्जाललाई आफ्नो प्रचारको  माध्यम बनाएका छन् ।  
यस क्रममा उम्मेदवारहरू कतै धान काट्दै गरेका, कतै गोरु जोत्दै गरेका त कतै किसानका खेतबारीमा हात जोड्दै गरेका दृश्यहरू देख्न पाइन्छ ।  निजी सवारी साधन बिना जिल्ला प्रवेश नगर्ने कतिपय केन्द्रीय स्तरका नेतासमेत गाउँघरमा उकालीओराली गर्दै गरेका भेटिन्छन्, देखिन्छन् ।  दलहरूका यस किसिमका गतिविधिलाई गाउँ सहर र टोली बस्तीका मतदाता निल्यालिरहेका छन् ।  अघिपछि आफ्ना मतदाता समेत नचिन्ने उम्मेदवार यतिबेला झुम्रेझाम्रे मतदातासँग अङ्कमाल गर्न र सेल्फी खिचाउन लालायित बनेका छन् ।  आखिर जनताको सर्वोपरिता निर्वाचनको समयमा भए पनि  स्पष्ट भएको छ ।  पाँच मिनेट तस्विर खिचाउनका लागि धान काटेको र गोरु जोतेको नाटक गर्नुभन्दा आफ्ना क्षेत्रका जनतालाई परेका समस्यामा  कसरी सहयोग गर्न सकिन्छ भनेर चिन्तन गर्ने प्रवृत्तिको विकास नै आम जनताका लागि औषधि समान गुन हुन पुग्छ ।  वर्षभरि कृषि कार्यमा संलग्न भएर पनि जीवन धान्न धौ धौको स्थितिमा रहेका तथा हलो जोतेरै जीवन बिताउन बाध्यहरूको जीवनमा परिवर्तन ल्याउनमा दत्तचित्त रहन नसक्दा नै  नेतृत्व र जनताबीच दूरी बढ्दै गएको छ ।  गाउँ ठाउँमा कृषि व्यवसायमा उन्नत प्रविधिको प्रयोग कसरी भित्र्याउने र कृषि व्यवसायमा संलग्न जनतालाई कसरी सुखी र सम्पन्न गराउनेभन्दा पनि जनता सधैँ गरिबी, अभाव र अज्ञानतामा रहुन र त्यसको फाइदा उठाउन सकियोस् भन्ने राजनीतिक सोच हावी हुँदै गएका कारण जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन सकेको छैन ।  जनताको घर आँगनलाई सधैँ प्यारो ठान्ने र आफ्ना मतदाताको समस्यालाई नजिकबाट अनुभूत गर्ने दल र उम्मेदवारले यसरी निर्वाचनको असिनपसिन हुनुपर्ने अवस्था रहँदैन ।  यही निर्वाचनमा पनि जनतासँग निरन्तर सम्पर्कमा रहेका र आफ्नो क्षेत्रको विकास निर्माणमा दत्त चित्त दल र उम्मेदवार निर्धक्कसँग मतदाता सामु पुगेका छन् ।  वास्तवमा राजनीतिक नेतृत्व र उम्मेदवारले यस किसिमको सम्बन्ध चुनावका बेला मात्र गाँस्ने परिपाटीले नेतृत्वप्रति धेरै किसिमका आशङ्का पैदा गर्ने गरेको छ ।  
 दलहरूले अहिले आफ्नो पक्षमा जनमत निर्माण गर्न पत्याउनै नसक्ने र पूरा हुनै नसक्ने किसिमका आश्वासन चुनावी घोषणापत्र मार्फत् बाँडिरहेका छन् ।  प्रत्येक निर्वाचनका बेला जनतालाई भ्रममा पार्न गरिने यस किसिमका प्रचारले जनताको वास्तविक समस्यालाई भने सम्बोधन गर्न सकेको देखिँदैन ।  मुलुक बहुदलीय शासन प्रणालीमा प्रवेश गरेको पनि झण्डै तीन दशक पुग्न लागिसकेको छ ।  यसबीचमा दलहरूले जारी गरेका चुनावी घोषणापत्रमा पूरानै विचार र दृष्टिकोणले निरन्तरता पाउने गरेका छन् ।  यस हिसाबले हेर्दा नचाहिँने आश्वासन बाढेर मतदातालाई भ्रममा पारेर चुनवा जित्ने दाउमा कतिपय दल र उम्मेदवार लागेका देखिछन् ।  ठूला– ठूला भाषण र आश्वासनभन्दा पूरा हुनसक्ने कुरा गरेर मतदाताको मन जित्न सकिन्छ भन्ने विश्वास दलमा छैन ।  अबका सचेत मतदाता आश्वासनको भरमा मात्र कुनै दल र उम्मेदवारको पक्षमा उभिन्छन् भन्ने छैन ।  कुन दल र उम्मेदवारलाई मतदान गर्दा आफ्नो गाउँ ठाउँ र मुलुकको हित हुन्छ भन्ने विवेक प्रयोग गर्न सक्ने चेतनाको विकास मतदातामा आइसकेको छ ।  यसतर्फ उम्मेदवारहरू सचेत हुन जरुरी छ ।  यसर्थ चुनावी प्रचार प्रसार पनि वास्तविकता र यथार्थतामा आधारित रहेर स्वस्थ प्रतिस्पर्धाका आधारमा जाने वातावरण तय हुनुपर्छ ।  कतिपय उम्मेदवार एक अर्कालाई तीव्र प्रहार गरेर चुनाव जित्ने रणनीति बनाइ रहेका छन् ।  यस्तो गतिविधिले चुनावी वातावरणलाई सहज तुल्याउँदैन ।  एक अर्काप्रति दोषारोपण गर्नुभन्दा आफ्नो नीति र कार्यक्रमलाई जनतासामु लैजाने प्रयत्नमा दलहरूको ध्यान केन्द्रित हुँदा नै त्यसलाई मतदाताले सहज रूपमा लिने छन् ।  यतिबेला दलहरूको प्रचार शैली हेर्दा जनता केही पनि जान्दैनन् र बुझ्दैनन् भनेजस्तो गरेको प्रतीत भइरहेको छ ।  पत्रपत्रिका र सामाजिक सञ्जालमा देखिने आरोप प्रत्यारोपले यही देखाउँछ ।  लोकतन्त्रमा चुनावी प्रतिस्पर्धा हुनु स्वाभाविक मानिन्छ तर त्यसका नाममा अस्वस्थ प्रतिस्पर्धा गरेर जनता झुक्याउने काम गर्नुलाई राजनीतिक संस्कार मान्न सकिन्न ।  मतदाताले जानेर – बुझेर मत प्रकट गर्ने परिपाटीले नै लोकतान्त्रिक विधि र प्रक्रियालाई संस्थागत र मजबुत बनाउनमा सहयोग पु¥याउँछ ।  आरोप प्रत्यारोपमा उत्रिनुभन्दा पार्टीका एजेण्डालाई सार्वजनिक गरेर लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्ने स्पष्ट खाकासहितका नीति तथा कार्यक्रमले मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न सकिन्छ भन्ने सोच र चिन्तन दलमा हुनुपर्छ ।   
निर्वाचन  नजिक रहेका बेला पश्चिम नेपालमा भएको हिंसात्मक आक्रमण र गतिविधिले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हँुदैन कि भन्ने आशङ्का खडा गरेको छ ।  निर्वाचन बिथोल्न खोज्ने तìव र प्रवृत्तिको पहिचान गरी आम नागरिकलाई भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारलाई सुरक्षित बनाउने दिशामा सरकार र निर्वाचन आयोगको विशेष ध्यान जान जरुरी छ ।  यसले चुनाव प्रचार प्रसारमा  हिँडेका उम्मेदवार र तिनका समर्थकमा भय सिर्जना गरेको छ ।  योसँगै निर्वाचन आचार संहिताका उलङ्घनका घटना बढ्न थालेका छन् ।  यसलाई कम गर्न निर्वाचन आयोग र राजनीतिक दल दुवैका लागि चुनौतीको विषय बनेको छ ।  उम्मेदवारले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा बाहिर गएर अनावश्यक रूपमा भोजभतेर गर्ने र विभिन्न किसिमका प्रलोभनमा मतदाता आकर्षित पार्ने प्रवृत्ति हावी हुन थालेको छ ।  यसलाई रोक्न पनि दल र उम्मेदवारले नैतिक इमानदारिता प्रस्तुत गर्न सक्नु पर्छ ।  चुनाव प्रचार प्रसारका क्रममा निर्वाचन आचार संहिता विपरीतका गतिविधि भएका समाचार पनि आइरहेका छन् ।  स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने दायित्व र जिम्मेवारी हाम्रो पनि हो भन्ने कुरा दलले पनि भुल्नु हुँदैन ।  वास्तवमा यो निर्वाचन अमूक दललाई सत्तामा पु¥याउन र बहुमत दिलाउनका लागि मात्र भइरहेको छैन ।  लोकतान्त्रिक विधि र प्रक्रियालाई संस्थागत गर्नुका साथै ऐतिहासिक संविधानसभाबाट जारी संविधानको पूर्ण कार्यान्वयन गराउने दिशामा यो निर्वाचन केन्द्रित छ ।  साथै यो निर्वाचन  मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने महìवपूर्ण अवसर पनि भएकाले मतदाताले कोही कसैको बहकाउमा नलागी निर्भीकताका साथ मतदानमा सहभागी भएर सही दल र उम्मेदवार पहिचान गरेर मतदान गर्न सक्नु पर्छ ।  मतदाताले आफूलाई न्यायाधीशको  रूपमा प्रस्तुत गरेर स्वच्छ छवि भएका निष्ठावान व्यक्तिलाई जिताउन सकेमा नै मुलुकले प्राप्त गरेको उपलब्धिको जगेर्ना हुनसक्छ ।  

प्रकाशित मिति: २०७४/७/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना