• १३ वैशाख २०८१, बिहिबार

पुर्खाको जुक्ति अहिले पनि कायमै

blog

शिवशङ्कर मिश्र 

बारा, मङ्सिर २६ गते । खेतमा लगाइएको बालीनाली बचाउन किसानले विविध जुक्ति अपनाउँदै आएका छन्। सदियौँदेखि पुर्खाले खेतीमा अपनाउँदै आएका जुक्ति अहिले पनि बाराली किसानले अपनाउँदै आएको पाइन्छ। खेतमा लगाइएको बालीलाई उम्रिने बेला तथा पाकेका समय चराचुरुङ्गीले खाइदिने, नीलगाई तथा घोडागधाले नष्ट गरिदिने र घरपालुवा जनावर खसी, बाख्रा, गाईगोरु, भैँसीलाई तर्साउन मानिसजस्तै पुतला (बुख्याचा) बनाएर खेतबालीमा राखिने जुक्ति अपनाइँदै आएको देवताल गाउँपालिका–३, बड्की फूलबरिया टोलका किसान मोहनबिहारी पाण्डेले बताउनुभयो।

अहिले मकै बाली बचाउन अधिकांश ठाउँमा यसरी पुतला बनाइएको उहाँले जानकारी दिनुभयो। भन्टा, काउली, सिमीलगायतका बालीमा यसरी पुतला बनाएर राख्दा जानवरहरू मानिस खेतमा रहेका ठान्दै डराउने अनि बाली खान वा नष्ट गर्न खेतमा नआउने गरेको पाण्डेले जानकारी दिनुभयो।

यस्तै बालीमा दाना लाग्ने बेलामा कसैले टुनामुना गरेमा नजर लाग्नबाट बचाउन खेतमा बनाइएको पुतलाबाट सुरक्षा मिल्ने अन्धविश्वास किसानमा अहिले पनि रहेको फेटा गाउँपालिका–५ का किसान जुमदिन मियाँले भन्नुभयो। खेतमा बनाइएको पुतलाले बिरुवा तथा बालीमा कीरा नलाग्ने गरेको हाम्रो विश्वास छ।

घरअगाडि बाँसको छाप्रो बनाएर त्यसैमा लौका, घिरौँला, फर्सी रोपिएको बोटमा खराब दृष्टिबाट बचाउन फुटेको हाँडीमा चुना र कालो टीका लगाएर झुन्ड्याइएपछि बढी फल्ने गरेको तथा कसैको टुनामुना नलाग्ने विश्वास रहेको महागढीमाई नगरपालिका–११ का रामेश्वर तिवारीले बताउनुभयो। गाउँनजिकै रहेको थोरै क्षेत्रफल भएको खेतमा लगाइएको बालीमा डरावनी पुतला बनाएर राख्दा सानातिना बालबालिकाबाट बाली बचाउन यस्तो पुतलाले मद्दत गर्छन्। पुतलासँगै प्लास्टिक झुन्ड्याउँदा हावा चलेपछि (छरछर) आवाज आउने गरेकाले बालीमा मुसो नलाग्ने गरेको किसानमा विश्वास रहेको तिवारी बताउनुहुन्छ। 

बालीनाली भएको खेतमा यसरी पुतला बनाउँदा जानवरबाहेक अन्य कुनै कुरामा यसको असर नरहेको तथा पूर्वजहरूको देखासिकी किसानले आजको दिनसम्म अपनाउँदै आएको कृषि ज्ञान केन्द्र कलैयाका सूचना अधिकारी तथा बाली विकास अधिकृत राजनारायणप्रसाद साहले भन्नुभयो।