सार्वभौम अधिकार र निर्वाचन

भोला लोहनी


नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ जारी भएको दुई वर्ष पूरा भएको छ ।  संविधानमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको राज्य संरचनाको प्रावधान उल्लेख छ ।  राज्य सञ्चालनका प्रमुख निकाय व्यवस्थापिका र कार्यपालिकाको कार्यक्षेत्र राष्ट्रको मूल कानुन संविधानद्वारा निर्धारण गरिएको छ र यी निकायको कार्यभार निर्वाचित जनप्रतिनिधिले सम्हाल्छन् ।  संविधानको कार्यान्वयनको क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रदेश सङ्घीय (केन्द्रीय) तहका लागि आगामी मङ्सिरभित्रै निर्वाचन गरिँदैछ ।  
नेपालको संविधान २०७२ बहुदलीय लोकतान्त्रिक प्रणालीको लिखित दस्तावेज हो ।  यो दस्तावेज जननिर्वाचित संविधानसभाको अत्यधिक बहुमतले पारित गरी प्रक्रियाअनुसार जारी भएको हो ।  अब केही अपवाद छाडेर कुनै पनि राजनीतिक पक्ष यो संविधानको विपक्षमा छैनन् भन्न सकिन्छ ।  प्रायसः सबै क्षेत्र, जातीय र राजनीतिक पक्षले स्थानीय तह निर्वाचनलाई उत्सवका रूपमा लिएर उत्साहजनक सहभागिता प्रदर्शन गरेका छन् ।  यसले नेपालीको लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास जगाएको छ ।  
जनताको सार्वभौम अधिकार सवैधानिक प्रक्रियाअनुसार जनप्रतिनिधिले कार्यान्वयन गर्छन् ।  यसकारण लोकतन्त्रमा जनताले सार्वभौम शक्ति प्रदर्शन गर्ने सुन्दरमाध्यम आवधिक निर्वाचन हो ।  स्वच्छता, निष्पक्षता र धाँधलीमुक्त निर्वाचन अनिवार्य सर्त हो ।  यसलाई भयरहित शान्त वातावरणमा सम्पन्न गराउने दायित्व संवैधानिक निकाय निर्वाचन आयोग, सुरक्षा निकाय, सरकार, राजनीतिक पार्टी र स्वयं मतदाताकै पनि हुन आउँछ ।  मतदाताले लोभलालच वा बहकाबमा नपरी स्वविवेकबाट मतदान गर्न सक्नुपर्छ ।  सार्वभौम जनता आफ्नो मतदान गर्ने अधिकार तथा जिम्मेवारी सदुपयोग गर्न जागरुक रहन आवश्यक हुन्छ ।  निर्वाचन आयोग र सुरक्षा प्रदान गर्ने निकायको दायित्व निर्वाचनको वातावरण सहज बनाई दिनु हो ।  निर्वाचन राजनीतिक दबाब वा सत्ताको दुरूपयोगबाट मुक्त गरिनुपर्छ ।  निर्वाचन आयोगको सक्षमता र निष्पक्षताबारे कसैले पनि प्रश्न गर्ने ठाउँ नपाओस् भन्नेमा आयोग प्रशासन सक्रिय रहनुपर्छ ।  निर्वाचनको मर्यादा कायम राख्न सबै पक्षको सहयोग र सद्भावना जरुरी हुन्छ ।  यसो भएमा निर्वाचनमा धांँधली भयो भन्ने गुन्जायस रहँदैन ।  
बहुदलीय शासन प्रणालीको महŒवपूर्ण पक्ष राष्ट्रिय राजनीतिमा पार्टीहरूको सकारात्मक तथा विवेकपूर्ण सहभागिता हो ।  पार्टीका आ–आफ्ना विचारधारा र निर्वाचन घोषणापत्र हुन्छन् ।  निर्वाचनका समयमा पार्टी सामाजिक न्याय, सुशासन तथा विकास निर्माणका फेहरिस्त तयार गरी मतदातासमक्ष हात जोड्दै पुग्नु स्वाभाविक कुरा हुन् ।  सुशासन तथा विकास निर्माणका काममा खरो उत्रन सक्ने पार्टी तथा योग्य उम्मेदवारको पक्षमा मतदान गरी मतदाताले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।  राष्ट्र तथा जनहितका विषय पहिचान गर्ने र अडान लिन सक्ने क्षमता भएको पार्टी नेतृत्वको चारित्रिक गुण, कार्यकुशलता, सेवा भावना एवं पार्टी कार्यकर्ताको क्रियाकलाप तथा व्यवहारबाट मतदाता प्रभावित हुनु स्वाभाविक हो ।  सर्वसाधारण मतदाता कुनै राजनीतिक पार्टीको विचारधारामा आस्था भएका कारण यो वा त्यो राजनीतिक पार्टीका उम्मेदवारको पक्षमा मतदान गर्ने हुन्छन् ।  जातीय आधार वा धार्मिक आस्थाले पनि केही मतदाता पक्ष वा विपक्षमा उभिने गरेका हुन्छन् ।  यसबाहेक केही मतदाता निर्वाचन समयको परिस्थिति र पार्टी नेतृत्व वा उम्मेदवारको चारित्रिक गुण तथा क्रियाकलापबाट प्रभावित भएर मतदानमा भाग लिइरहेका हुन्छन् ।
निर्वाचनका समयमा राजनीतिक पार्टीको प्रतिस्पर्धा सतहमा आउनु स्वाभाविक हो ।  हालै काँग्रेस पार्टीसँग सत्ता साझेदारीमा रहेको नेकपा माओवादी केन्द्र पार्टी विपक्षमा रही स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा, एमालेसँग हात मिलाउन गएको छ ।  यसबाट काँग्रेस पार्टीलगायतका केही अन्य पार्टीमा हलचल पैदा गरेको देखिन्छ ।  नेपालको राजनीतिक परिदृश्यमा पार्टीहरू सत्ता तथा नेतृत्वका लागि फुट्ने, जुट्ने कुरा नौला होइनन् ।  सत्तासिन नेपाली काँग्रेसले वाम राजनीतिक पार्टीको गठबन्धनलाई अधिनायकवादी शासन व्यवस्था तर्फको अलोकतान्त्रिक गतिविधि बताएको छ ।  वाम गठबन्धनले संवैधानिक लोकतान्त्रिक प्रणालीप्रतिको आस्थामा कायम रहेको बताएको छ ।
निर्वाचनमा आफ्नो पार्टीका बढीभन्दा बढी उम्मेदवारले विजय हासिल गरुन् भन्ने चाहना  राख्नु स्वाभाविक हो ।  कुनै एक पार्टीको पूर्ण बहुमत सदस्य निर्वाचित भएमा सरकार बनाउन वा राज्य सञ्चालनमा पूर्ण आधिकारिकता हुने र चाहेको काम सम्पन्न गर्न सहज हुन्छ ।  तथापि, पार्टीगत स्वार्थबाट माथि उठेर राष्ट्रको सर्वोत्तम हितमा काम गर्न एकभन्दा बढी पार्टी मिलेर सरकार बनाउँदा पनि फरक नपर्नुपर्ने हो ।  
हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले वाम पार्टीको हौसला बढाएको छ ।  तथापि, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको बनोट र अपेक्षा फरक पर्ने हुँदा आगामी निर्वाचनको परिणाम के कस्तो आउने हो त्यो अनुमान गर्न सहज छैन ।  बहुदलीय लोकतान्त्रिक प्रणाली भएका संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका, जापान, भारतजस्ता दुई प्रमुख राजनीतिक पार्टी सक्रिय रहेका राष्ट्रमा समय, परिस्थिति र प्रभावशाली नेतृत्वका कारण आवधिक निर्वाचनमा पार्टीको सत्ता फेरबदल हुने क्रम चलिरहेको हुन्छ ।  यो नै बहुदलीय लोकतान्त्रिक प्रणालीको सफलताको नमुना हो, जहाँ एउटा पार्टीको नेतृत्वले सरकार चलाउँछ र विपक्षमा रहेको अर्को पार्टीले सरकारका काम कारबाहीमा आवश्यकताअनुसार खबरदारी गरिरहेको हुन्छ ।
निर्वाचनको परिणाम जे जस्तो आए पनि सरकार बनाउने पार्टी नेतृत्वले राष्ट्र तथा जनताको सर्वोत्तम हितका लागि विपक्ष पार्टी र समाजका सबै वर्गका जनताको विश्वास तथा सहभागिता जित्न सक्ने दूरदर्शिता, कर्मठता, त्याग तथा उदारताको उदाहरण पेस गर्न सक्नुपर्छ ।  क्षेत्रगत वा जातजातिमा सद्भावना र एक्येबद्धता जुटाएर देश निर्माणको यज्ञमा आफूलाई समर्पित गर्न सक्नुपर्छ ।  योग्यता तथा इमानको कदर गर्ने र नातावाद कृपावादबाट मुक्त हुने क्षमता पनि नेतृत्व वर्गका लागि त्यत्तिकै आवश्यक छ ।  यही नै सुशासनका लागि पहिलो कदम हुन सक्छ ।  

प्रकाशित मिति: २०७४/७/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना