• १३ वैशाख २०८१, बिहिबार

‘पपुलर मत’सँग जोडिएको साख

blog

वि.सं. २०७४ मा वाम गठबन्धनका विरुद्ध एक्लै चुनावी मैदानमा रहेर प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई समानुपातिक मतले संसद्मा दोस्रो ठूलो दल बनाएको थियो। ‘लज्जास्पद पराजय’बाट ओठतालु सुकाएका कांग्रेसजनलाई ४ मङ्सिरमा हात परेको ५७ सिटले मलमपट्टीको काम गरे पनि समानुपातिकमा खस्केको मतले पुनः गम्भीर बनाएको छ। प्रस्तुत लेखमा कांग्रेसले देशभर पाएको समानुपातिक मतको विश्लेषण गर्ने प्रयास गरिएको छ।

२०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ जनाको नाम मतदाता नामावलीमा समावेश थियो। जतिबेला एक करोड पाँच लाख ९२ हजार ८२२ मत खस्दा समानुपातिकमा कांग्रेसले ३२.७७ प्रतिशत अर्थात् ३१ लाख २८ हजार ३८९ मत पाएको थियो तर ४ मङ्सिरको चुनावमा २५.७१ प्रतिशत अर्थात् २७ लाख १५ हजार २२५ मतमा खुम्चिन बाध्य भएको छ कांग्रेस। जब कि २५ लाख ६० हजार ६३२ त नयाँ मतदाता नै थपिएका थिए। थपिएका मतदाताको अनुपातमा कांग्रेसको मत बढ्नुपथ्र्यो तर घट्यो। किन त ? दलहरूले समानुपातिकमा पाएको मतलाई ‘पपुलर मत’ भन्ने चलन छ। त्यस हिसाबे ‘पपुलर मत’ ७ प्रतिशत घटेको सन्दर्भलाई मसिनो गरी केलाउँदा खासगरी कांग्रेससँग जोडिएका मतदाता कांग्रेस र लोकतन्त्रको भविष्यप्रति चिन्तित भएका छन् । प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये ६२ मा ‘पपुलर मत’ पाएको कांग्रेस १०३ क्षेत्रमा पछाडि परेको छ। 

प्रदेशगत अवस्था

प्रदेश १ का १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमध्ये मोरङ ३, ४, ५ र ६, झापा १ र ३, सुनसरी ४ तथा धनकुटामा कांग्रेसले समानुपातिकमा पहिलो मत पाएको छ। निर्वाचन आयोगका अनुसार २० क्षेत्रमा दोस्रो मत पाएको कांग्रेस झापा २ र ६, इलाम १ तथा सुनसरी १ मा स्वतन्त्र पार्टीको भन्दा कम मतमा सीमित हुन पुगेको छ। मधेश प्रदेशका आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये सिराहा १ र ३, धनुषा ३, सर्लाही २ र ४, रौतहटका चारवटै क्षेत्र, बारा १ तथा पर्साको २, ३ र ४ गरी १३ क्षेत्रमा कांग्रेसले पहिलो मत पाएको छ। महोत्तरीका सबै क्षेत्रमा कांग्रेस पछाडि परेको छ। 

बागमती प्रदेशका १३ जिल्लाका ३३ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले धादिङ २, नुवाकोट २, ललितपुर १, काठमाडौँ १, ३, ४ र १० गरी सात क्षेत्रमा ‘पपुलर मत’ पायो। बागमतीका १२ क्षेत्रमा दोस्रो, १० क्षेत्रमा तेस्रो, तीन क्षेत्रमा चौथो र एक क्षेत्रमा कांग्रेसले पाएको मत पाँचौँ स्थानमा छ।  

गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमध्ये मनाङ, तनहुँ १, स्याङ्जा २, बागलुङ १ र २ गरी पाँचवटामा कांग्रेसले ‘पपुलर मत’ पाएको छ। कास्की ३ मा तेस्रोमा धकेलिएको कांग्रेसले अन्य क्षेत्रमा दोस्रो मत पाएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये बाँके ३, नवलपुर १, दाङ ३, कपिलवस्तु २, रुपन्देही १ र ३ मा पहिलो मत पाएको कांग्रेसले गुल्मी, पाल्पा र दाङका १ र २, रुपन्देही ३ र ४, कपिलवस्तु १, बाँके १, बर्दिया २, नवलपुर २, अर्घाखाँची, रुकुम पूर्व, रोल्पा, प्युठानमा दोस्रो मत पाएको छ। कपिलवस्तु ३, बाँके २, बर्दिया १ मा कांग्रेस तेस्रो स्थानमा धकेलिएको छ।

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका जुम्ला, मुगु, हुम्ला, जाजरकोट र सुर्खेत १ मा कांग्रेसले ‘पपुलर मत’ पाएको छ। सुर्खेत २ तथा दैलेख १ र २ गरी तीन क्षेत्रमा दोस्रो मत पाएको कांग्रेस सल्यान, डोल्पा, कालीकोट र रुकुम पश्चिममा तेस्रोमा खुम्चिएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमध्ये कञ्चनपुर २ र ३, अछाम १ र २, बाजुरा, डोटी, कैलाली ५ र डडेल्धुरा गरी आठ क्षेत्रमा ‘पपुलर मत’ पाएको कांग्रेसले दार्चुला, बैतडी, बझाङ, कञ्चनपुर १, कैलाली १, ३ र ४ मा दोस्रो मत पाएको छ भने कैलाली २ मा तेस्रो स्थानमा ओर्लिएको छ। 

‘पपुलर मत’को तुलना 

४ मङ्सिरको चुनावमा कांग्रेसको ‘पपुलर मत’ घटेको भए पनि कतिपय निर्वाचन क्षेत्रमा मत बढेको छ। प्रदेश १ का ताप्लेजुङ, पाँचथर, झापा १, धनकुटा, मोरङ ४, सुनसरी ४ गरी छवटा क्षेत्रमा मात्र अघिल्लो चुनावमा भन्दा यो पटक मत बढेको छ। इलाम र उदयपुरका दुवै क्षेत्र, झापा २, ३ र ४, मोरङ १, २ र ३ तथा सुनसरीका १, २ र ३ मा मत घटेको छ। मोरङ २ मा ३१ हजार २९६ मत पाएको कांग्रेसले यस पटक २३ हजार ३९५ मा चित्त बुझाउनु प¥यो। सङ्खुवासभा, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङले अघिल्लो चुनावमा पाएको मत जोगाउन सकेनन्।  

धनुषाका चारवटै क्षेत्रमा कांग्रेसको ‘पपुलर मत’ बढेको छ। धनुषामा कांग्रेसले सबैभन्दा धेरै क्षेत्र नम्बर ३ बाट २५ हजार १९५ मत पाएको छ। यसैगरी पर्सा २, ३ र ४, महोत्तरी ३, रौतहट १ र ३, सप्तरी १ र ३, सिराहा ३ र बारा १ मा मत बढेको छ। सप्तरी ४ मा अघिल्लो चुनावमा १६ हजार १६६ मत पाएको कांग्रेसले अहिले नौ हजार ९२३ मा चित्त बुझाउनुप¥यो। सप्तरी १ मा कांग्रेसको आधा मत घट्यो। जहाँ अघिल्लो चुनावमा आठ हजार ३४४ मत पाएकोमा अहिले चार हजार ७४८ मा खुम्चिन बाध्य भयो। महोत्तरी र सिराहाका १, २ र ४ मा घटेको छ। 

त्यसैगरी सर्लाही १ मा १२ हजार ९९५ मत पाएको कांग्रेसले यो पटक सात हजार ३३६ तथा क्षेत्र नं. ४ मा २३ हजार ३९८ मत पाएकोमा १६ हजार २९ मा सीमित भएको छ। रौतहट ४ मा पाएको १८ हजार ५६६ मत घटेर १४ हजार २१८ मा खुम्चियो भने बारा ४ मा पाएको ११ हजार ७७ बाट छ हजार ४७२ मा सीमित हुँदा चार हजार ६०५ मत गुमेको छ। 

काठमाडौँका १० वटै क्षेत्रमा कांग्रेसले अघिल्लो चुनावमा पाएको ‘पपुलर मत’ जोगाउन सकेन। कतिसम्म भने क्षेत्र नं. १० मा १८ हजार १४८ पाएकोमा अहिले ११ हजार ६१४ पाउँदा छ हजार ५३४ मत गुम्न पुग्यो। भक्तपुर, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट र सिन्धुलीका दुवै क्षेत्रमा कांग्रेसको मत खस्केको छ। मत गुमाउनेको सूचीमा बागमती प्रदेश अगाडि छ। ललितपुर र चितवनका तीनवटै क्षेत्रमा मत घटेको छ। कतिसम्म भने चितवनका तीनवटै क्षेत्रमा कांग्रेसले आधा मत गुमायो। चितवन १ मा पाएको ३० हजार ७५० मत अहिले घटेर १६ हजार ६९५, २ मा पाएको २४ हजार २१७ बाट घटेर १२ हजार १३२ तथा क्षेत्र नं. ३ मा २६ हजार १३७ बाट घटेर १० हजार ५२४ मा खुम्चिएको छ। सिन्धुपाल्चोकको क्षेत्र नं. १ र रामेछापमा पनि कांग्रेसलाई अघिल्लो चुनावको भन्दा मत घटेको छ।  

दोलखामा भने कांग्रेसको ‘पपुलर मत’ बढेको छ। अघिल्लो चुनावमा २० हजार ८३८ मत पाएको कांग्रेसले अहिले छ हजार १६९ मत बढाएर २७ हजार सात पु¥याएको छ। रसुवामा छ हजार ५९७ मत पाएको कांग्रेसले छ हजार ७५२ मत बढाएर १३ हजार ३१४ पु¥याएको छ। सिन्धुपाल्चोक २ मा दुई हजार १८६ मत बढेर २० हजार ७०६ मत पाएको छ कांग्रेसले।  गण्डकी प्रदेशको मनाङ र स्याङ्जा १ बाहेक कुनै पनि क्षेत्रमा मत बढेन। स्याङ्जामा २५ हजार १४४ मत पाएकोमा २८७ मत बढेको छ भने मनाङमा ४८४। कास्कीका तीनवटै क्षेत्र, गोरखा, तनहुँ, नवलपरासी पूर्व र बागलुङका दुवै क्षेत्रमा मत घटेको छ। स्याङ्जा २, लमजुङ, मुस्ताङ, म्याग्दी र पर्वत पनि मत घट्ने जिल्लामा पर्छन्। पर्वतमा २५ हजार १९० मत पाएको कांग्रेसले १८ हजार ८१७ मत पाएको छ भने कास्की १ मा २३ हजार ६४८ मत पाएको कांग्रेसले १६ हजार २८६ मत प्राप्त गरेको छ। 

गुल्मी २ मा १८ हजार २५६ मत पाएको कांग्रेसले १८ हजार ४५१ पु¥याएको छ। कपिलवस्तु ३ मा १२ हजार ३५७ मत पाएकोमा अहिले पाँच हजार २७५ मत बढ्यो। रुकुम पूर्वमा तीन हजार ६६८ मत पाएकोमा कांग्रेसले बढाएर पाँच हजार ६९२ पु¥याएको छ। बाँके २ मा नौ हजार ६२२ मत पाएको कांग्रेसले १० हजार १९८ मत पायो। 

रुपन्देही ४ मा अघिल्लो चुनावमा २८ हजार ६३१ मत पाएको कांग्रेस यस पटक १९ हजार ८४८ मा खुम्चिन बाध्य भयो। पाल्पा, बर्दिया र नवपलपुरका दुवै क्षेत्र, दाङका तीनवटै क्षेत्र, रुपन्देहीका चारवटै क्षेत्र, कपिलवस्तु १ र २, बाँकेको १ र ३, गुल्मी १, अर्घाखाँची, रोल्पा र प्युठानमा कांग्रेसको मत घटेको छ।

कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, कालीकोट, हुम्ला, जाजरकोट, सुर्खेत १ तथा दैलेख १ र २ मा कांग्रेसको मत बढेको छ। कालीकोटमा गत निर्वाचनमा छ हजार ५०३ मत पाएको कांग्रेसले १० हजार ५८५ मत पाएको छ। सल्यान, जुम्ला, सुर्खेत २ र रुकुम पश्चिममा भने कांग्रेसको ‘पपुलर मत’ घटेको छ। कांग्रेसले रुकुम पश्चिममा १४ हजार ८८ मत पाएकोमा आठ हजार ७६६ मा चित्त बुझाउनुप¥यो। 

कैलालीका पाँचवटै क्षेत्र, कञ्चनपुरका तीनवटै क्षेत्र र अछामका दुवै क्षेत्र तथा डोटी, बझाङ, दार्चुला र डडेल्धुरामा कांग्रेसको ‘पपुलर मत’ घटेको छ। डडेल्धुरामा अघिल्लो पटक कांग्रेसले पाएको २५ हजार १४८ पपुलर मत घटेर यस पटक १८ हजार ५६२ मा खुम्चिएको छ। बाजुरामा कांग्रेसले २१ हजार ७५१ मत पाएकोमा बढेर २७ हजार ९७२ पुगेको छ। बैतडीमा अघिल्लो चुनावमा २१ हजार २८५ मत पाएको कांग्रेसले मत बढाएर २४ हजार ५०० पु-याएको छ। 

प्रत्यक्ष र समानुपातिकमा गरी एक सय सिटको हाराहारीमा जित्ने अपेक्षा गरेको कांग्रेस ८९ सिटमा सीमित हुनु पछाडिको मुख्य कारण भनेकै समानुपातिक मत घट्नु हो। कांग्रेसको साख जोगाउन समानुपातिक मत बढाउनैपर्छ। समानुपातिकमा घटेको मतलाई आगामी निर्वाचनमा बढाउनु पार्टी नेतृत्वका लागि अबको प्रमुख चुनौती हो।