• १५ चैत २०८०, बिहिबार

पञ्चामृत खाएकालाई रेबिजको त्रास

blog

जिल्लाको विकट महाभारत गाउँपालिका–१, गोकुलेमा शनिबार आयोजित रेबिजसम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागी स्थानीयवासी । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर २६ गते  ।  काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–१, गोकुलेका स्थानीयवासी रेबिजको त्रासमा छन्। आफूहरूले पूजामा पञ्चामृत खाएको दूध दिने गाई रेबिजको कारण मरेको पुष्टि भएपछि गाउँले सबै त्रासमा परेका हुन्। गत कात्तिक २६ गते स्थानीय पञ्चलाल जिम्बाको घरमा सत्यनारायण पूजा लगाइएको थियो। पञ्चामृत बनाउन दूध प्रयोग गरिएको गाई मङ्सिर १३ गते मरेको थियो। त्यसपछि गाउँमा त्रास फैलिएको छ। अहिले उनीहरू स्वास्थ्यकर्मीको परामर्शमा छन्।

“मेरो घरमा कात्तिक २६ गते सत्यनारायणको पूजाका लागि पञ्चामृत बनाउन दूध ल्याएको गाई मङ्सिर १३ गते म-यो। गाईमा रेबिजको लक्षण देखिएर परीक्षण गर्दा रेबिज पुष्टि भयो। हामीलाई रेबिजको खोप लगाउनुपर्छ कि पर्दैन ?” स्थानीय पञ्चलाल जिम्बाले गाउँमा पुग्नुभएका स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तमराज सेढाईलाई प्रश्न गर्नुभयो। उहाँले पूजाको दिनमा गाउँका थुप्रै व्यक्ति र बालबालिकाले पञ्चामृत खाएका हुनाले उनीहरूको पहिचान कसरी गर्ने र रेबिजविरुद्धको खोप लगाउन के गर्ने र कतिलाई लगाउने भन्ने विषयमा अन्योल भएको बताउनुभयो। उहाँले गाउँभरमा १५/२० वटा भुस्याहा र छाडा छोडिएका घरपालुवा कुकुर रहेकाले गाउँमा रेबिज फैलने खतरा रहेको बताउनुभयो।

“गाउँभर कुकुर छन्, केही कुकुरले गाउँका केही पशु र मानिसलाई समेत टोकेको छ। यी कुकुरलाई कसरी व्यवस्थापन गर्ने वडा, गाउँपालिकालगायतका निकायले ध्यान दिनु प¥यो,” पञ्चलालले थप्नुभयो। स्थानीय खीरमाया श्रेष्ठले भदौमा घरमा पालेको गाईले गोठमा आएको एउटा कुकुरलाई हान्दा गाईको टाउकोमा कुकुरले टोकेको बताउँदै मङ्सिर १३ गते कुकुरले टोकेको गाई मरेको बताउनुभयो। “कुकुरले टोकेको गाईलाई रेबिज होला भनेर सोचेकै थिएनौँ। मर्ने बेलामा गाईले मुख र नाकबाट ¥याल निकाल्दै अस्वाभाविक करायो। पछि उक्त गाईमा रेबिज पुष्टि भयो,” खिरमायाले भन्नुभयो। स्थानीय मोहनदास श्रेष्ठले नागरिकको घरघरमा रेबिजबारे जनचेतना नपुगेको बताउँदै गाउँमा पालेका कुकुरलाई रेबिजको खोप नलगाएका कारण रेबिज फैलने खतरा रहेको बताउनुभयो। 

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले महाभारत गाउँपालिकाको वडा नं. १ र ८ मा रेबिजका कारण दुई गाई, दुई खसी र एउटा बङ्गुर गरी छवटा पशु मरेको बताउनुभयो। उहाँले मरेका पशुमा रेबिज पुष्टि भएपछि महाभारत गाउँपालिकामा सात जनालाई कुकुरले टोकेको भन्दै कुकुरले टोकेका मानिस र पशुमा रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको बताउनुभयो। उहाँले वडा नं. १ मा ४० जना र वडा नम्बर ८ मा ३० जनालाई रेबिजको खोप लगाइएको बताउनुभयो। 

महाभारत गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले गाउँपालिकाको वडा नं. १ र ८ रेबिज देखिएको र वडा नं ६ र ७ मा समेत केही समयअघि केही पशु मरेको जानकारी आएको बताउनुभयो।