• १६ चैत २०८०, शुक्रबार

एक वर्षमा तीन वटा तुइन विस्थापन

blog

याङ्चु बगरमा तुइन विस्थापन भए पनि जीर्ण हुन लागेका तुइनका पिलर । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला मङ्सिर २५ गते । कर्णाली नदीमाथि निर्माण गरिएका तीन वटा तुइन विस्थापन भएका छन् । तुइन भएका स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनहरु विस्थापन मात्र भएका छैनन्, यात्रुहरू सुरक्षित रूपमा कर्णाली नदीमा वारपार गर्न थाल्नुभएको हो । 

खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँका बबरजङ्ग हमालले आफ्नै वडाभित्रका दुुई वटा तुइन विस्थापन भएको बताउनुभयो । उहाँको क्षेत्रमध्ये नल्न र गाउँपालिका केन्द्र जाने याङ्चुु बजारको तुइन विस्थापन भएका हुन् । यी दुवै स्थानमा झोलुङ्गे पुलहरू नयाँ निर्माण भएका छन् । उहाँले तुइन विस्थापन हुनु भनेकै कर्णाली नदी पार गर्दा सुरक्षित भएको महसुस हुने गरेको बताउनुभयो । उहाँहरूले छ वर्षसम्म लगातार तुइन तर्दै आउनुभएको थियो । 

त्यसैसरि सोही गाउँपालिका– १ र ३ को सिमानामा पर्ने बोक्चै गौडाका होटेल व्यवसायी अर्जुन सिंहले सो क्षेत्रमा पर्ने कर्णाली नदीमाथिको तुइन विस्थापन भएको बताउनुभयो । उक्त स्थानमा पनि नयाँ झोलुङ्गे पुल निर्माण भएको छ । उहाँले बिहान बेलुका र रातीको समयमा पनि मानिसहरू तुइनबाट कणाली नदी पार गर्नु पर्दा  डराउनुपर्ने बाध्यता अब हटेको बताउनुभयो । उक्त गाउँपालिकामा कर्णाली नदीमाथि चार वटा तुइन थिए । तीमध्ये तीन वटै तुइन एकै वर्षमा विस्थापन भए पनि गाउँपालिका अझै तुइन मुक्त हुन सकेको छैन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले तीन वटा तुइन विस्थापन गर्न सफल भए पनि  सिङ्गो गाउँपालिका भने तुइन मुक्त मुक्त हुन नसकेको बताउनुभयो । उहाँले अझै पनि गाउँपालिकाको –१ र २ को सिमाना लाली बगरमा तुइनबाटै स्थानीयलाई तर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । याङ्चुु बगरको तुइन लिएर त्यतै जडान गरिएको छ । उहाँले सो स्थानमा पनि पुल निर्माणका लागि पहल भई रहेको बताउँदै तीन वटा तुइन विस्थापन गर्न सफल भए पनि एउटा बाँकी रहेको कारण पैदल यात्रुलाई सुरक्षित रूपमा कर्णाली नदी वारपार बाँकी रहेको बताउनुभयो । खार्पुनाथको लक्ष्य भने तुइनमुक्त गाउँपालिका घोषणा गर्ने छ ।