• १४ वैशाख २०८१, शुक्रबार

रातभर निद्रा परेन

blog

बेलुका सम्साँझै सुतेको तर रातभर निद्रा परेन । बिहान सबेरै उठेर आज किन निद्रा परेन, मनमा केके कुराले घर जमायो त ? सोच्दै जाँदा पहिलो कुरा त बूढेसकालमा कसले सहारा देला भन्ने सोचाइमा मन कहाँबाट दौडेर कहाँ पुग्यो पत्तै भएन । दोस्रो कुरा, बूढापाकाहरूले सुझाएका कुरा मनमा खेल्दै गर्दा ती अमर वाणीहरू मनमा खिल्दै गएछन् । निद्रा पर्ने कुरै भएन । तेस्रो कुरा, आफ्नै जीवनकालमा के परिवर्तन आयो वा मेरो जीवनमा के उपलब्धि भयो ? यस्तै यस्तै कल्पनामा डुबुल्की मार्दा रात बित्यो, निद्रा भाग्यो तर हात लाग्यो शून्य । यही निद्रा नपर्नुका पीडा भनौँ या निद्रा भगाउने अनुभूतिलाई यहाँ लिपिबद्ध गरिएको मात्र हो ।

निद्रा नपर्नुका कारण खोजी गर्दा वनको बाघले खाओस् नखाओस् मनको बाघले पनि खाँदो रहेछ । जवानीमा हरेक मानिसको लक्ष्य धन कमाउने, धाक जमाउने र मोजमस्ती गर्ने भन्नेमै सीमित हुँदो रहेछ । यी सबै विषय प्राप्त भइसकेपछि एकदिन बूढो हुनैपर्ने र यो सांसारिक धनदौलत, सुखभोग सबै त्यागेर जानैपर्ने नियति सबैलाई थाहा भएकै विषय हो । यी सबै विषय थाहा हुँदाहुँदै पनि आफन्त, साथीभाइ र छरछिमेक जसलाई हेरे पनि घरमा बूढाबूढी मात्र छन् । छोराछोरी, बुहारी जसका पनि कि त विदेश पसे कि त अन्यत्रै डेरा सरेका छन् । बूढाबूढीबाहेक आफ्नै पुख्र्यौली थातथलोमा कोही बस्नै चाहन्न । सबै बूढाबूढी भन्छन्– दिन घचेट्ने, काल पर्खने । सामाजिक संरचना भत्किएकामा चिन्तित छन् । उनीहरू भन्छन्– आज राति पटक्कै निद्रा परेन ।

हिजो धनको खोजीमा केही युवा विदेश पस्दा भूपि शेरचनले लेख्नुभयो– ‘मृगमरीचिकापछि लाग्नेहरूको यादमा रुन्छन् धूपी र सल्लाहरू ।’ तर आज गाउँघर सबै रित्तिएको देख्दा ‘सहारा नपाएर रुन्छन् बाल, वृद्ध, वृद्धाहरू घरमा’ भन्नुपर्ने अवस्था छ । मौलिक परम्परा भत्किएको छ । निर्यातलाई आयातले विस्थापन गरिदिएको छ । स्वनिर्भरता घटिरहेको छ भने परनिर्भरता बढिरहेको छ । सुख छ तर शान्ति छैन । सामूहिक चिन्तनमा ह्रास आएको छ । एकल परिवार र व्यक्तिवादी सोच हाबी भएको छ । शारीरिक श्रम घटेको छ तर मानसिक चिन्ता बढेको छ । यहीँनेर खतराको घन्टी बजेको छ ।

यही नेपाली समाज हो, एउटा घरमा बाबु, बाजे र नाति तीन पुस्ताको संयुक्त परिवार हुन्थ्यो । हजुरबा गाउँ–समाजको भद्रभलादमी, हजुरआमा घरमूली, बाबाआमा कमाउने र नातिनातिना आँगनमा रमाउने गर्थे । त्यही घरमा जेठाजेठी अर्मपर्म र ऐचोपैँचो गर्थे । माइलामाइली गाई चराउँथे, साइँलासाइँली बाख्रा हेर्थे, राइँलाले ठाइँलाको धरालो गथ्र्यो । घरमा कोही बेरोजगार थिएन, कोही भोको र नाङ्गो थिएन । खेतमा काम गरे माम पाइन्थ्यो, जङ्गल पसे ऐँसेलु, काफल, चुत्रो निःशुल्क खाइन्थ्यो । भाषा, संस्कार र संस्कृति अग्रजले घरमै घोकाउँथे, नभए नि प्रकृतिले आफँै सिकाउँथ्यो । ज्वरो आउँदा चिराइतो, सड्केमर्केमा कालो काफल र ग्यास्टिकमा चरिअमिलो चपाउन घरमै अग्रजले सिकाउँथे । कृत्रिम आहारा र अनिद्राको चिन्ता थिएन । जीवन चक्रको आफ्नै निरन्तरता थियो । 

हिजो भूतले वर्तमानलाई पाठ सिकाउँथ्यो, वर्तमानले भविष्यतलाई बाटो देखाउँथ्यो । श्रम बढी गर्नुपर्ने भए पनि मानसिक शान्ति हुन्थ्यो । पुख्र्यौली सीपले निरन्तरता पाउँथ्यो । आज यो संरचना भत्किसक्यो । हिजो समस्याभित्र अवसर लुकेको हुन्थ्यो, आज अवसरभित्र समस्याको चाङ चुलिएको छ । गाउँमा बूढाबूढी, रोगी र असक्त मात्र छन् । खेतबारी बाँझो छ । पढ्नेले हलो छोडे, नपढ्ने विदेश पसे, छोराछोरी सहरमा जापानी र कोरियन भाषा सिक्दै छन् । ‘जसका भँैसी उसका वन’ भन्ने उखान बासी भइसक्यो । वनपाखामा स्याल, दुम्सी, हुँडार र बाँदरको रजाइँ छ । 

गाउँमा रैथाने प्रजातिका खाद्यान्न, पशुपन्छी, फलपूmल र तरकारी बाली नामेट भइसके । वर्णसङ्कर प्रजातिको कृषि प्रणालीले उत्पादनमा लागत थेक्दैन । उत्पादित वस्तुले बहुराष्ट्रिय कम्पनीसँग मुकाबिला गर्न सक्दैन । नेपाल मात्र यस्तो देश हो; जहाँ भनसुन, नाता र कृपाबाहेक योग्यता, क्षमता र दक्षताले काम गर्छ भन्नेमा कसैको विश्वासै छैन र त योग्य नागरिक विदेश पलायन भइसक्यो । यहाँ बस्ने पनि मनसुन र भनसुनमा बाँच्नुपर्छ । भन्न जति सजिलो छ, नेपालमा गरिखान पनि गाह्रो छ । 

भजन, घाँटु, सोरठी, देउडा, रत्यौली, झाम्रे र कर्खाका सुर, ताल, लय, नृत्य, वाद्यहरू कतै लोप त कतै वर्णशङ्कर भइसके । बूढो पुस्ता कहिलेसम्म बाँच्छ ? सामाजिक मूल्यमान्यताले निरन्तरता कसरी पाउने ? आफ्ना पूर्खाको अमूल्य निधि कसले 

जोगाइदिन्छ ? भनिन्छ गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य आधारभूत आवश्यकता हुन् । त्यसैको खोजीमा ऊ गाउँबाट सहर, सहरबाट पनि लाहुर पुगेको छ । लाहुरबाट फक्र्यो भने पनि ऊ सहरमै हराएको छ तर शान्ति र मौलिक सम्पदा गुमाएको छ र त निद्रा परेन भन्नै परेको छ । 

आज नाति पुस्ता स्कुलमा बन्दी जीवन भोगिरहेको छ, बुवा पुस्ता विदेशमा श्रम गर्नुपरेको छ भने हजुरबा पुस्ता गाउँमा थोत्रो घर रुँगेर बस्नु परेको छ । नाति पुस्ताले आधुनिक शिक्षाका नाममा आफ्नो पहिचान र परम्परा गुमाइरहेको छ । बुवा पुस्ता पैतृक सम्पत्ति, पारिवारिक दायित्व, समाज र देशलाई बिर्सेर भौतिक सुखभोगको खोजीमा भाँैतारिएको छ । हजुरबा पुस्ता सबै सुविधा पाएर पनि बूढेसकालको सहारा नपाएर न भोक न निद्राको अवस्थामा तड्पिरहेको छ । समाज र संयुक्त परिवारको संरचना भत्किएको छ । एकल परिवार र व्यक्तिवादी सोचको विकास भएको छ । धन कमाएपछि सहर पस्ने र सहरबाट पनि विदेश पलायन हुने प्रवृत्ति बढेको छ । यो हाम्रै राज्यव्यवस्था र शिक्षाको उपज हो । यसलाई हामीले ल्याएको व्यवस्था, नीति र नेतृत्वको उपहार भनौँ कि सभ्यताको उपहास ? 

निद्रा परेन भन्दै गर्दा मेरी हजुरआमाको भनाइले मेरो मनमस्तिष्कमा डेरा जमाएको रहेछ । म जान्नेबुझ्ने भएदेखि नै मैले मेरी हजुरआमाको रेखदेख, स्याहारसुसार र उहाँको अर्तिबुद्धि पाउने अवसर पाएको थिएँ । उहाँ आफ्ना जीवन भोगाइका कथा सुनाउँदै भन्नुहुन्थ्यो, “म यो घरमा नौ वर्षकै उमेरमा भित्रिएकी हुँ । मेरी जेठी छोरी र मेरो उमेर १६ वर्ष मात्र फरक छ । गएका र रहेका गरेर म एक दर्जन सन्तानकी आमा भएँ । उहीले नीति र विधिमा चल्नु पथ्र्यो । मेरा सबै रहर पूरा भइसके । अब नातिनीबुहारी भिœयाउने र पनातिको मुख देख्ने धोको छ ।” मेरी हजुरआमाका सबै रहर पूरा भइसक्दा पनि एउटै जिजीविषा थियो वंश निरन्तरताको ।

मेरी हजुरआमाले आशीर्वाद दिनुहुन्थ्यो, “बिसासय आयु होस्, हिँड्दा ठेस नलागोस् बस्दा केश नझरोस्, सन्तानले डाँडाकाँडा ढाकून् ।” सधैँ अर्तिबुद्धि दिनुहुन्थ्यो, “आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको, जसका सन्तान उसका धन ।” उहिले त हजुरआमाका यी अमृतमय अर्तिउपदेश मलाई अन्धविश्वासी, रूढी, विभेदकारी र विकासको गतिविरोधीजस्तो लाग्थ्यो । तिनै विचार आज कति दूरदर्शी, मर्मस्पर्शी र व्यवहार उपयोगी रहेछन् भन्ने लाग्छ । उहिले भन्ने गर्थे, “मानिस बूढो भए निहुँ खोज्छ, पशु बूढो भए भीर ।” सायद आपूm बूढो भएर हो वा आधुनिक युगसँग सम्झौता गर्न नजानेर हो वा यो खोक्रो भौतिक दुनियाँप्रतिको वितृष्णाले हो, मलाई त मेरै हजुरआमाको जीवनशैली औधी मन प¥यो, उनकै आशीर्वचनले मन च्वास्स घोप्न थाल्यो ।

मेरी हजुरआमाले शताब्दी आयुसम्म पनि कुनै सिटामोल खानु परेन, चिकित्सक र स्वास्थ्य चौकीको त के कुरा लामा, वैद्यको ढोकासम्म चिहाउनु परेन । आफ्ना सन्तानको भक्तिभाव पशुपतिनाथले भन्दा कमी पाउनुभएन । जीवनको पूर्वाद्र्धमा जेजस्तो सङ्घर्ष गरेरै भए पनि उत्तराद्र्धमा उहाँको दिनचर्या, शारीरिक तन्दुरुस्ती र आत्मिक सन्तुष्टि अपरिमेय थियो । यो सन्तुष्टि मेरा निम्ति त परिकल्पनासम्म गर्न सकिन्न । मेरा बुवाले पनि ८५ वर्षीय आयुमा पाँच सन्तान र ३६ दरसन्तानको मुख देखेर पनि हजुरआमाले जस्तै माया पाउनुभो । मेरी आमाका पनि २० पनाति÷पनातिनी भएर पनि अझै जनाति÷खनातिको प्रतीक्षामा हुनुहुन्छ । मेरी आमाको इच्छा पूरा होस् म कामना गर्छु ।

मैले प्राप्त गरेको नाम, दाम, इनाम र आधुनिक शिक्षा त पक्कै मेरी हजुरआमा र मेरा आमाबाले पाउनुभएन होला तर उहाँहरूले पाएको सुख, शान्ति र सन्तुष्टि भोलि म र मेरा अनुजले कहिल्यै पाउने सम्भावना छैन । आधुनिक शिक्षा मात्र होइन, भौतिक सुखसयल पनि मैले प्राप्त गरेको छु । हजुरआमाको ‘सेरोफेरो सबै मेरो’ भन्ने सम्पत्ति गुमाएरसरहको एउटा कोठामा थुनिनुपर्दा पनि ‘क्या पाएँ’ भन्नु परेको छ । यसले विकासको गति र हाम्रो मति कता ढल्किएको रहेछ भन्ने कुराको सङ्केत गर्दछ होला । यी त मेरा निजी यथार्थपरक अनुभव र अनुभूति हुन् । अरूसँग मेल÷बेमेल खाएमा संयोग मात्र हुनेछ । 

युगअनुसार देशमा आएको परिवर्तन, आधुनिक शिक्षा र भौतिक विकासको गतिसँगै हरेक व्यक्तिको जीवनस्तर, बौद्धिक क्षमता र राष्ट्रको समृद्धि बढ्दै जानुपर्ने हो । नेपालभन्दा पछि जन्मिएका राष्ट्रले चरम विकास गरिसके । हामी लड्नकै लागि, अरूका निम्ति मर्नकै लागि वा अरूको सेवा गर्नकै लागि जन्मेका हौँ त ? आफ्नो जन्मघरमा आफ्ना परिवारसँग बसेर सुखभोग गर्ने र त्यहीँ जीवन बिताउने सौभाग्य हामीलाई नभएकै हो त ? हामीलाई आफ्नो घर, परिवार र राष्ट्र बनाउने अधिकार छैन त ? बहादुरीका नाममा अर्काका लागि लड्नैपर्ने र पेट पाल्नकै लागि परदेशी हुनुपर्ने बाध्यता के हो ? आफ्नो देश बनाउन आफ्नै भाइभाइ लड्नुपर्ने कारण के हो ? एकपछि अर्का यी र यस्तै प्रश्नले मनमा अशान्ति ल्याइरह्यो । हजुरआमाका जीवनदृष्टि चटक्क भुलेर पश्चिमी जीवनदर्शन अनुसरण गर्दा आज यो पश्चात्ताप गर्नु परेको हो । 

नेपालको पछिल्ला दुई सय वर्षयताको सामाजिक परिवर्तनलाई घोत्लिएर चिन्तनमनन गर्दा हाम्रो आफ्नो मौलिकपन हराउँदै गएको छ । विदेशी ऋणको भार थपिइरहेको छ । परनिर्भरता बढ्दै गएको छ । समस्याभित्रको अवसर होइन कि अवसरको खोजीमा समस्याको पहाड चुलिएको छ र त अशान्ति थपिँदै गएको प्रतीत हुन्छ । इतिहासको अध्ययन गर्दै जाँदा सत्ताको छिनाझम्टी, वैदेशिक हस्तक्षेप, अपरिपक्व नेतृत्व, विप्रेषणमुखी अर्थतन्त्र र जनताको लाहुरे मानसिकताबाहेक अरू केही भेटिँदैन ।

कमजोर नेतृत्व, अस्थिर राजनीति र लाहुरे मानसिकताले गर्दा नै हाम्रो देशको उन्नति र प्रगति हुनै सकेन । आजसम्म नेतृत्व पङ्क्ति सत्ताको स्वार्थ र शक्तिको इशारामा नाचिरह्यो । दक्ष जनशक्ति पलायन हुँदै गयो । शिक्षा, पराश्रित मानसिकता, बसाइँसराइ र असक्षम नेतृत्वको निर्भरताले मेरो भविष्य अनि देशको अवस्था के हुने हो ? यी अनुत्तरित प्रश्नको बोझ बोकी कहिलेसम्म बाँचिरहने हो ? यही परम्पराको निरन्तरता कि अब विकल्प खोज्ने बेला 

भयो ? यिनै यिनै प्रश्न मनमा खेलिरहँदा रातभर निद्रा परेन ।