नेपालीपनका कृतिले नोबेल पुरस्कार जित्न सक्ने जिकिर

काठमाडौँ, कात्तिक १७ गते । साहित्यकार एसपी कोइरालाको कवितासंग्रह ‘गौँथलीहरुको गीत’को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ (गौंथलीहरुको गीत) सार्वजनिक गरिएको छ ।

सिर्जनात्मक महिला समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक लोकार्पण गर्नुभयो । राष्ट्रपति भण्डारीले कलाकार अरुणा हिङ्माङको नौदिने एकल चित्रकला प्रदर्शनीको पनि शुभारम्भ गर्नुभयो । कलाकार हिङमाङले साहित्यकार कोइरालाको कवितासंग्रहमा संग्रहित कविताको शीर्षकगत चित्र बनाउनुभएको छ । चित्र पुस्तकमा पनि समावेश गरिएको छ । यिनै चित्र प्रदर्शनीमा राखिएको हो । कलाकार हिङमाङको यो चौथो एकल चित्रकला प्रदर्शनी हो ।
कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले विदेशीको नक्कल गरेर नभई नेपाली मौलिकपनका कृतिको रचना सिर्जना गरेर नेपाली साहित्यलाई विश्व जगत्मा फैलाउन सकिने धारणा राख्नुभयो । “नेपालीले साहित्यमा नोबेल पुरस्कार जित्न विदेशीले जस्तो साहित्य रचना गर्नुपर्दैन, हाम्रै कला संस्कृतिका आधारमा पनि नोबेल पुरस्कार जित्न सकिन्छ”, उहाँले भन्नुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा लैजान नेपालीमा लेखिएका कृतिलाई अंग्रेजीमा अनुवाद गरिनुपर्ने बताउनुभयो । “अनुवादमार्फत नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा लगे नोबेलजस्ता ठूला पुरस्कार पनि जित्न सकिन्छ, त्यसका लागि कृतिको भावना नमर्नेगरी अनुवाद हुनुपर्छ”, उहाँले भन्नुभयो ।

कृतिकार कोइरालाले मन दुःखेका बेला आउने भावनालाई ‘गौँथलीका गीत’ मा समावेश गरिएको जानकारी दिनुभयो । यो उहाँको चौथो कृति हो । प्रशासनिक सेवामा २५ वर्ष काम गर्नुभएका पूर्वसचिव शंकरप्रसाद कोइरालाले दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउन पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित मन्त्रिपरिषद्का अर्थ, उद्योग र आपूर्तिमन्त्रीको जिम्मेवारीसमेत पूरा गर्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds