आ–आफ्नो क्षेत्रमा खटिन एमाओवादीको निर्देशन

 

perisdada

काठमाडौ, चैत १७ गते । एकीकृत माओवादीले परिमार्जित आन्दोलनका कार्यक्रमलाई सफल बनाउने गरी आ–आफ्ना क्षेत्रमा खटिन सबै केन्द्रीय नेता तथा सभासद्हरुलाई निर्देशन दिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यलयमा उपलब्ध केन्द्रीय सदस्यहरुसहितको बैठकमा नेताहरुलाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएको हो ।

बैठकमा नेता तथा सभासद्हरुलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले तत्काल वार्ताको कुनै सम्भावना नदेखिएकोले आन्दोलन शसक्त बनाउनुको विकल्प नभएको बताउनुभएको थियो । ‘‘वार्ता गर्ने मूल नीति हुँदाहुँदै पनि सत्तापक्षबाट कुनै ठोस प्रस्ताव आएन, उनीहरु सहमति र वार्ताको पक्षमा नरहेको स्पष्ट भयो,’’ बैठकमा प्रचण्डले राख्नुभएको धारणा उधृत गर्दै सचिव एवं प्रमुख सचेतक गिरिराजमणि पोख्रेलले भन्नुभयो, ‘‘अब तत्काल वार्तामा बस्नेस्थिति रहेन । आन्दोलनलाई शसक्त बनाउनुको विकल्प हामीसँग रहेन ।”

एमाओवादीले आन्दोलनका कार्यक्रम अघि बढाउन पार्टी भित्र यसअघि बनाएको थियो । त्यही तीनवटा कमाण्ड अनुसार नै नेता कार्याकर्ता आ–आफ्ना क्षेत्रमा जाने निर्णय भएको पोखरेलले जानकारी दिनुभयो । एकीकृत माओवादीले यसअघि अध्यक्ष प्रचण्डको नेतृत्वमा मध्य, बाबुराम भट्टराईको नेतृत्वमा पश्चिम र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा पूर्वी कमाण्ड बनाएको थियो ।

३० दलीय मोर्चाको नेतृत्व गर्दै आएको एमाओवादीले सबै नेता कार्यकर्तालाई आन्दोलनमा होमिन आह्वान गर्दै आएको छ । मोर्चाले चैत २४ देखि २६ सम्मको आमहड्ताललाई यथावत राख्दै आन्दोलनका अन्य कार्यक्रम भने परिमार्जन गरेको छ । जस अनुसार १९ गतेको नेपाल बन्द फिर्ता गरिएको छ । बाँकी मशाल जुलुश, जिल्ला प्रशासन कार्यलय घेराऊलगायतका कार्यक्रम भने यथावत रहेको पोख्रेलले जानकारी दिनुभएको छ । बैठकले २३ गते ६ माओवादी पार्टीहरु मिलेर गर्ने देशब्यापी जनप्रदर्शनलाई भने शसक्त बनाउने निर्णय गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना