एमाओवादीलाई दुविधाग्रस्त मनस्थिति त्याग्नुपर्ने

Ishwor Pokhrelविराटनगर, चैत १७ गते । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाओवादीलाई दुविधाग्रस्त मनस्थितिलाई त्यागेर संविधान निर्माणका लागि अग्रसर हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज बिहान विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले निर्वाचनको माध्यमबाट जनताले संविधान लेख्न पठाएकामा एमाओवादीसहितका दलले सडकमा लट्ठी, खुकुरी बोकेर उत्रनु भनेको जनताको मतको उपहास गर्न खोजेको भन्नुभयो । जातीय पहिचानको नाममा सिधा–साधा जनतालाई भावनामा बहकाएर समाजमा विभेद उत्पन्न गराउने कार्यबाट सतर्क हुनुपर्ने उल्लेख गर्दै महासचिव पोखरेलले बहुजातीय, बहुधार्मिक, बहुभाषिक एवम् बहुसांस्कृतिक मुलुक भएकाले सबैको प्रतिनिधित्व हुने खालको संविधानको पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो ।
मुलुक सङ्क्रमणकालको पीडा र असहजतामा रहेको बताउँदै महासचिव पोखरेलले सबै लोकतान्त्रिक शक्ति संविधान लेख्ने कार्यमा अग्रसर हुनुपर्ने धारणा प्रकट गर्नुभयो । संविधान भनेको दलहरूबीचको सम्झौता दस्तावेज हो भन्दै उहाँले एमाले सहमतिमा संविधान निर्माणको पक्ष अत्यधिक लचकता अपनाएको जानकारी गराउनुभयो । महासचिव पोखरेलले दलहरूबीच सहमति नभएको अवस्थामा प्रक्रियाकै माध्यमबाट भए पनि संविधान जारी हुने स्पष्ट पार्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना