• १६ चैत २०८०, शुक्रबार

गुणस्तरीय चालक उत्पादनमा नियम बाधक नहुने

बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंकमै उत्तीर्ण

blog

फाइल तस्बिर

काठमाडौं, मङ्सिर १६ गते। आगामी आइतबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० प्रतिशत अङ्क भारको नियम लागू हुने भएको छ। अन्य प्रदेशमा यसअघि नै लागू भएको यो नियम आइतबारबाट बागमती प्रदेशमा लागू हुन लागेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मङ्सिर १४ गतेदेखि ७० प्रतिशतको नियम कार्यान्वयन गर्नु भनेर परिपत्र गरेपछि बागमती प्रदेशमा नियम लागू हुन लागेको हो। 

यो नियम यातायात व्यवस्था कार्यालय, चाबहिलबाट सुरु हुनेछ। आइतबार चाबहिलमा यसको उद्घाटन हुनेछ। अन्य यातायात व्यवस्था कार्यालयमा भने एक सातापछि मात्र यो नियम लागू हुने बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, ‘ट्रायलमा ७० प्रतिशतको नियमको आइतबार यातायात व्यवस्था कार्यालय चाबहिलबाट सुरु हुनेछ। अब यातायात व्यवस्था कार्यालयको व्यवस्थापकीय पक्ष मिलाउनुपर्ने भएकाले अन्यमा एक सातापछि मात्र यसको कार्यान्वयन हुनेछ।’

नयाँ नियम लागू भएपछि लिखित परीक्षामा २५ वटा प्रश्न सोधिने भएको छ। प्रतिप्रश्नको अंकभार चार रहनेछ। परीक्षार्थीले उत्तीर्ण हुनको लागि ६० प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ। यसअघिको व्यवस्थामा २० वटा प्रश्न सोध्ने गरिएको थियो। जसमा प्रतिप्रश्न अंकभार पाँच रहको थियो। परीक्षार्थीले ५० प्रतिशत प्रश्नको जवाफ मिलाएको खण्डमा लिखित परीक्षामा पास भएको मानिन्थ्यो। परीक्षार्थीले एक पल्ट लिखित परीक्षा पास गरेपछि १८ महिनासम्म तीन चोटिसम्म ट्रायल दिन पाउने छन्। अहिले ट्रायलमा शतप्रतिशत अङ्क ल्याउनुपर्ने हुन्छ। 

गाडीको हकमा उकालो ओरालो तथा एल ब्याक, मोटरसाइकल तथा स्कुटरको हकमा उकालो ओरालो र साँघुरो बाटो अनिवार्य कटाउनुपर्ने हुन्छ। बागमती प्रदेशमा हाल सवारी लाइसेन्सको परीक्षा लिने ६ वटा कार्यालय छन्। जसमध्ये काठमाडौं उपत्यकामा चाबहिल, स्वयम्भू, एकान्तकुना र जगती गरेर चार वटा रहेका छन्। चितवन र हेटौँडामा एकएक वटा रहेका छन्। चितवनमा भने विवादका कारण परीक्षा सुरु हुन सकेको छैन। 

दुर्घटना बढ्ने जोखिम हुँदैन 

सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षामा ७० प्रतिशतको अंकभार ल्याएर उत्तीर्ण हुने प्रावधान राख्दा सवारी दुर्घटनाको जोखिम नबढ्ने बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालको दाबी छ। अहिले दिइने छुट मध्ये केही त्रुटिहरू मात्र पर्ने भएकाले यसले कुनै ठूलो जाखिमको सङ्केत नगर्ने उहाँको तर्क छ। उहाँ भन्नुहुन्छ, ‘अहिले लागू हुन लागेको व्यवस्थामा चालकको केही सामान्य कमजोरीलाई मात्र छुट दिइएको छ। उकालो ओरालो र साँघुरोमा कुनै छुट छैन, आठको केही घेरा छुँदा र एक पल्ट खुट्टाले टेक्दा मात्र छुटको व्यवस्था रहेको छ। त्यसकारण यो व्यवस्था लागू हुँदा दुर्घटना बढ्ने जोखिम हुँदैन।’  धेरै व्यक्तिसँग सवारी साधन रहेका कारण सवारी चालक अनुमति पत्रको माग बढ्दै गएको छ। यही माग बमोजिम सेवा दिन यातायात व्यवस्था कार्यालयमा कर्मचारीको पनि अभाव रहेको अर्यालको भनाइ छ। ७० प्रतिशत अंकभारमा सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहजता हुने उहाँ बताउनुहुन्छ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।