• १३ वैशाख २०८१, बिहिबार

तेलमा आत्मनिर्भर बन्न तोरी खेतीको प्रवर्धन

blog

पालिका अध्यक्ष र प्राविधिकले तोरीको बीउँ वितरण गर्दै । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई 

खोटाङ, मङ्सिर १६ गते । खोटाङको रावाबेसी गाउँपालिकाले तोरीको तेलमा आत्मनिर्भर बन्ने अवधारणा अघि सारेको छ । पालिका भित्रका अधिकांश भूभागमा तोरी खेती हुने भएकाले तेल बाहिरबाट आयात गर्न रोक्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ ।   

रावाबेसी गाउँपालिकामा तेलहन बाली उत्पादनका लागि उर्वरभुमि हुँदाहुँदै पनि करोडौँको खाद्य तेल आयात भइरहेकाले पालिकाले तोरी खेती प्रवर्धन कार्यक्रम सुरु गरेको पालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । 

केही समयअघि ६ वटै वडाको तोरी खेती हुने भूभागको छनोट गरेर कृषकबाट पालिकाले आवेदन माग गरेको थियो । कृषकहरूले दिएको आवेदनको आधारमा तोरी खेती प्रवर्धन कार्यक्रम अन्तर्गत बीउ वितरण गर्न सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।   

वडा १ कुभिण्डेको खैरेनी, चालिसे, कुखुरे र वेल्टार, वडा नम्बर २ खार्पाको दसमुरे र जलजले, वडा नम्बर ३ लामिडाँडाको तिर्पाबेँसीको भूभाग तोरी खेतीका लागि छनोट भएका छन् । यस्तै, वडा नम्बर ४ डुम्रे धारापानीको कटहरे बेँसी र खार्पाटार, वडा नम्बर ५ दुवेकोलको राउटार र वडा ६ हौँचुरको हौँचुरबेँसी, गिद्देबेँसी, टारबेँसी र भैसेटारलाई तोरी खेतीका लागि गाउँपालिकाले छनोट गरेको कृषि प्राविधिक उद्धव बास्तोलाले जानकारी दिनुभयो । छनोटमा परेका क्षेत्रका ६ सय ५० जना कृषकले आवेदन दिएका छन् ।  

आवेदन आएका कृषकको जग्गा र सिँचाइको अवस्था हेरेर बिउ तिरण गर्ने गरिएको उहाँको भनाइ छ । कृषकलाई वितरणका लागि पालिकाले १ हजार २ सय ६० केजी तोरीको बिउ खरिद गरेको छ । 

कृषकहरूको मागअनुसार तोरीको बीउ अपुग भएमा पुनः पालिकाले खरिद गरेर बीउ प्रदान गर्ने पालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । जतिसक्दो धेरै तोरी उत्पादन गरेर पालिकालाई खाने तेलमा आत्मनिर्भर बनाइने उहाँको भनाइ छ । तोरी पेल्न पालिकाले मिल पनि सञ्चालनमा ल्याउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।