• १३ वैशाख २०८१, बिहिबार

हुम्लामा बदर मत सङ्ख्या घट्यो

blog

राजन रावत

हुम्ला, मङ्सिर १६ गते । यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लामा बदर मत सङ्ख्या यसअघिको निर्वाचनभन्दा कम देखिएको छ । यस पटक बदर मत दुई प्रतिशतभन्दा बढी रहे पनि पहिलेभन्दा धेरै कम हो । मतदाता शिक्षा कार्यक्रम गाउँमा समेत पुग्नु, सबै गाउँपालिका स्तरमा नमुना मतदान कार्य हुनु र वारेसबाट मतदान कार्य भएका कारण बदर मत सङ्ख्या घटेको हो । 

निमित्त जिल्ला निर्वाचन अधिकारी श्याम रानाका अनुसार यस पटकको निर्वाचनमा जिल्लाको बदर मत सङ्ख्या दुई दशमलव ११ प्रतिशत रहेको छ । उहाँले गत स्थानीय निर्वाचनभन्दा १७ प्रतिशतले बदर मत घटेको उहाँको भनाइ छ । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा १९ दशमलव सात प्रतिशत बदर मत रहेको थियो । 

रानाका अनुसार जिल्लाको कुल मतदाता सङ्ख्या ३२ हजार ८५७ रहेकोमा प्रतिनिधि सभातर्फ २४ हजार २६५ मत खसेकोमा २४ हजार २६५ सदर र ५२४ मत बदर भएको थियो । यो दुई दशमलव ११ प्रतिशत हो ।  निर्वाचन कार्यालयका अनुसार प्रदेश क्षेत्र (क) मा दुई दशमलव ०२ प्रतिशत मत बदर भएको छ । 

त्यसैगरी प्रदेश क्षेत्र (ख) मा एक दशमलव १५ प्रतिशत मत बदर भएको छ । सो क्षेत्रमा १४ हजार २७ मत रहेकोमा १० हजार ३१४ मत खसेकोमा १० हजार १९५ मत सदर हुँदा ११९ मत बदर भएको थियो । त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ २५ हजार ३४० मत खसेकोमा २४ हजार ६१७ मत सदर र ७२३ मत बदर हुँदा दुई दशमलव ८५ प्रतिशत मत बदर देखिएको छ । 

कार्यालयले मतदाता शिक्षा गाउँ गाउँमा लगेको, नमुना मतदान कार्य सात वटै गाउँपालिका स्तरमा सञ्चालन गरिएकाले बदर मत घटेको निष्कर्ष निकाले पनि वासेरबाट मतदान गर्ने कार्य बढी भएकाले पनि बदर मत घटेको मानवअधिकारकर्मी कन्द सिंहले बताउनुभयो ।