• १५ चैत २०८०, बिहिबार

प्रतिनिधिमा चार र प्रदेशमा नौ सिटमा विजयी

संघ र प्रदेशमा खुम्चियो लोसपा

blog

काठमाडौं, मङ्सिर १६ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै मधेश प्रदेशमा प्रमुख शक्ति बदलिएको छ ।

मधेश प्रदेशमा प्रदेश सभा सदस्यको मतगणना सकिएको  छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामको आधारमा नयाँ दलको रुपमा उदाएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश र संघमा खुम्चिएको छ ।

सत्ता गठबन्धनमा सहभागी बनेको लोसपाले प्रतिनिधि सभा प्रत्यक्षतर्फ सात सिट पाएको थियो भने प्रदेश सभातर्फ १६ सिट पाएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको परिणाम अनुसार लोसपा प्रतिनिधि सभातर्फ चार र प्रदेश सभातर्फ नौ स्थानमा विजयी भएको छ ।

मधेशी जनताको हक, अधिकार र पहिचानका लागि लड्दै कुनैबेला तराई–मधेशमा बलियो पकड बनाउन सफल अध्यक्ष ठाकुरले नेतृत्व गरेको पार्टी लोसपा पछिल्लो समय तराई–मधेशमै खुम्चिएकाे हाे ।  

अध्यक्ष ठाकुर तीन दशक बढी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले तराई मधेश आन्दोलनपछि कांग्रेस परित्याग गरेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गर्नुभयो । लोसपा अध्यक्ष ठाकुर २०७४ सालमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग र त्यसपछि सङ्घीय समाजवादी फोरमसँग एकता गरेर जसपामा आवद्ध हुनुहुन्थ्यो ।

लोसपाबाट निर्वाचित प्रदेश सभा सदस्य

सिराहा निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (ख)मा लोसपाका उम्मेदवार रामबाबु यादव नौ हजार ७६३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) सुरेशकुमार मण्डलले नौ हजार ३९८ मत ल्याउनुभएको छ ।

त्यस्तै, रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (क)मा लोसपाका उम्मेदवार सन्तोषकुमार पाण्डेय विजयी हुनुभएको छ । उहाँले १४ हजार ९२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । पाण्डेयका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार महेन्द्र यादवले १० हजार ७९८ मत ल्याउनुभएको छ ।

यसैगरी, रुपन्देही निर्वाचन क्षेत्र नं. ४ को (क)मा लोसपाका उम्मेदवार कन्हैया बनियाँले १५ हजार १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनतम पार्टीका उम्मेदवार जितेन्द्र नाथ शुक्लले नौ हजार २६२ मत प्राप्त गर्नुभएको छ ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा लोसपाका जयनुल राइन विजयी हुनुभएको छ । ११ हजार ४२४ मत ल्याएर राइन पाँच हजार १७३ मतान्तरले विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का मञ्जु यादवले छ हजार २५१ मत ल्याउनुभएको छ ।

महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को (क) मा लोसपाका उम्मेदवार अभिराम शर्मा र (ख) मा रानी कुमारी तिवारी विजयी हुनु भएको छ । त्यस्तै, सर्लाही निर्वाचन क्षेत्र नं. १ को (क)मा लोसपाका उपेन्द्र महतो, बारा निर्वाचन क्षेत्र नं. ४ (ख) जितेन्द्र सोनल र पर्सा निर्वाचन क्षेत्र नं. २ को (ख)मा रमेशप्रसाद कुर्मी प्रदेशसभा सदस्य मा विजयी हुनुभएको छ ।

यसैगरी, प्रतिनिधि सभातर्फ महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा महन्थ ठाकुर, महोत्तरी क्षेत्र नं. २ मा शरदसिंह भण्डारी, सर्लाही निर्वाचन क्षेत्र नं. १ मा रामप्रकाश चौधरी र रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा सर्वेन्द्रनाथ शुक्ला विजयी हुनुभएको छ ।