• १३ वैशाख २०८१, बिहिबार

भारतीय नागरिकमाथि चाकरचौडामा गोली प्रहार

blog

घटनास्थलबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोली । तस्बिर : नारद कोहार

नारद कोहार
तौलिहवा, मङ्सिर १६ गते । 
कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको हो ।

चाकरचौडासँग सीमा जोडिएको सिद्धार्थनगर जिल्लाको अलिगढवाका बिहीबार राति ३५ वर्षीय ईरशाद खानमाथि दुई गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले नेपाली सीमा क्षेत्रको चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गरेको खुल्न आएको जानकारी दिनुभयो । उहाँका अनुसार खानलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ ।

गोली लागेर घाइते हुनुभएको खानलाई उपचारका लागि भारतको नौगढ लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर मेडिकल कलेज लगिएको छ ।

घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोली घटनास्थलमा रहेका छन् ।