• १२ वैशाख २०८१, बुधबार

आईसीसी लिग–२ : नेपाल आज नामिबियासँग खेल्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, मंसिर १६ गते । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा दिउँसो १:४५ बजे सुरु हुने खेलमा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा छ । एकदिवसीय विश्वकप छनोटका लागि महत्वपूर्ण मानिएको यस सिरिजमा नेपाललाई सबै खेल महत्वपूर्ण रहेको छ ।

मंसिर २२ गतेसम्म सञ्चालन हुने यस सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्यान्ड रहेका छन् । नामिबिया भ्रमण गर्नुअघि नेपालले घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग तीन खेलको सिरिज खेलेको थियो ।

जसमा नेपाल २-१ ले विजयी भएको थियो । त्यसपछि नेपालले भारतमा दिल्ली जिल्ला क्रिकेट एसोसिएसन (डिडिसिए) सँग दुईवटा अभ्यास खेल खेलेको थियो । नेपालले भारतमा एक खेलमा जित र अर्को खेलमा हार खेपेको थियो ।

नेपाल लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने भारतबाटै नामिबिया प्रस्थान गरेको हो । सात टोली सहभागि यस सिरिजमा ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली आगामी वर्ष आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न पनि शीर्ष पाँचमा रहनु पर्नेछ । नेपाल अहिले सिरिजको छैटौं स्थानमा छ । सिरिजमा २० खेल सकेको नेपालले १७ अङ्क बनाएको छ ।

नामिबिया २७ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा छ । २९ खेलबाट ४२ अंक बनाएको स्कटल्यान्ड दोस्रो स्थानमा छ । सबै खेल सकेको ओमान ४४ अंक सहित शीर्षस्थानमा  र अमेरिका ३५ अंक सहित तेस्रो स्थानमा छ ।

पाँचौं स्थानमा रहेको यूएईले २६ खेलबाट २७ अंक बनाएको छ । २८ खेलबाट पाँच अंक बनाएको पपुवा न्युगिजी (पीएनजी) अन्तिममा छ । नामिबिया भ्रमणका लागि क्यानले यसअघिनै रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

टोलीमा आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशङ्कर शाह र नन्दन यादव हुनुहुन्छ । नन्दनले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको हो ।