• १६ चैत २०८०, शुक्रबार

सरकारले चासो नदिँदा मेलम्ची खानेपानी काम चलाऊ भयो : प्रकाशमान सिंह

blog

काठमाडौँ, मङ्सिर १६ गते । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने कुरालाई महत्त्वका साथ व्यवस्थित रूपमा अघि बढाउन नसक्नुमा सरकारले चासो नदिएको काँग्रेस नेता प्रकाशमान सिंहले बताउनुभयो । मेलम्ची खानेपानी काम चलाएका रूपमा मात्र हुँदै आएको छ पटक पटक अरवौ खर्च भई सक्दा समेत पानी उपत्यकावासीले नपाउनुमा सरकारकै कमजोरी भएको उहाँले बताउनुभयो । 

अर्बौँ खर्च भइसकेको राष्ट्रिय गौरवको परियोजनालाई सङ्घीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रूपमा काठमाडौँ उपत्यकामा ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो । निर्वाचनका बेलामा काठमाडौँका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौँ आउने हो वा नेताहरूको चुनावी एजेन्डा मात्रै हो ? भन्नेजस्ता प्रश्न गरेकाले आफूले मेलम्चीको पानी काठमाडौँ नआउनुको समस्या बुझ्न मेलम्ची पुगेको बताउनु भयो । बिहीबार मेलम्ची अवलोकनपछि कुरा गर्दै उहाँले सङ्घीय सरकारले अहिले पनि मेलम्चीवासीका समस्या नसुनेको स्थानीयहरूको गुनासो रहेको बताउनु भयो । 

आवश्यक कामहरू अघि बढाउने कुरामा सङ्घीय सरकारले कन्जुस्याइँ गर्नु नहुने बताउनु भयो । उहाँले आफू काठमाडौँबाट पुनः निर्वाचित भएकाले अबको दिनमा संसद् र सम्बन्धित निकायहरूमा काठमाडौँमा मेलम्चीको पानी लैजानका लागि दबाब र उचित व्यवस्थाको पहल गर्न लागिपर्ने बताउनु भयो । उहाँले काठमाडौँमा पानी पठाइसकेपछि उठेको २५ प्रतिशत पैसा स्थानीय पालिकाहरूलाई दिनपर्ने र त्यसमा कुनै तलमाथि हुनु नहुने स्थानीय तहको माग रहेको पनि बताउनु भयो ।

नेता सिंहले सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिका सहभागी भई विज्ञहरूले दिएको सुझावमा छलफल गरी व्यवस्थित तरिकाले पानी वितरण गर्न आवश्यक रहेको बताउनु भयो ।