• १६ चैत २०८०, शुक्रबार

हाकिमको सरुवा गर्ने सहमति पछि आन्दोलन स्थगित

blog

लमही नगरपालिका अघि धर्नामा बसेका आन्दोलनरत कर्मचारी । तस्बिर: दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, मङ्सिर १६ गते ।  प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेको भन्दै लमही नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिको आन्दोलन स्थगित भएको छ । आन्दोलनरत कर्मचारी, जनप्रतिनिधि  बिचको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न आग्रह गर्ने सहमति पछि आन्दोलन स्थगित भएको हो । 

छलफलपछि प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई सरुवाको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने लिखित सहमति भएको छ । लमही नगरपालिका पशु शाखा प्रमुख शिवराज न्यौपानेले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न अनुरोध गर्ने लिखित सहमति पछि तत्कालका आन्दोलन स्थगित गरी आफुहरु काममा फर्किएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक हप्ता भित्र सरुवा गर्नेपर्ने र त्यसको लागि नगर प्रमुख, उपप्रमुखले पहल गर्ने गरी सहमति भएको छ, उहाँको सरुवा नभए फेरी आन्दोलन हुन्छ ।”आन्दोलन स्थगित भएसँगै लमही नगरपालिकाबाट प्रवाह हुने सबै सेवाहरु शुक्रबारबाटै सूचारु हुने भएको छ ।  

वडा अध्यक्षसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै बिहीबार लमही नगर विकास समितिको कार्यालय घेराउ गरेका थिए । डाँगी नगर विकास समितिको कार्यालयमा रहेको क्वाटरमा बसेको सूचना पाएपछि आन्दोलनरत पक्ष घेराउ गर्न पुगेका थिए । गत आइतबारदेखि कर्मचारी सेवा प्रवाह ठप्प पारी आन्दोलनमा उत्रिएका थिए । मनोमानी रूपमा प्रमुख प्रशासकीय अधिकृतले काम गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी आन्दोलनमा उत्रिँदै आएका छन् । पछिल्लो पटक सरुवा भएको केही हप्ताभित्र पुनः लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएपछि आन्दोलन चर्किएको थियो । 

आन्दोलनमा दलहरू र सेवाग्राही सहभागी हुन थालेपछि सहमतिको लागि दुई पक्षीय वार्ता भएको थियो ।