• १३ वैशाख २०८१, बिहिबार

मायाको हत्यामा गाउँकै युवा आरोपित

blog

बैतडी समाचारदाता 

बैतडी, मङ्सिर १६ गते । धारिलो हतियार प्रयोग गरी घाँटी काटिएको अवस्थामा मृत फेलापरेकी २१ वर्षीया माया लुहारको हत्यामा सशस्त्र प्रहरीमा कार्यरत गाउँकै एक युवाको हात रहेको प्रहरीको शङ्का छ।

भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा समेत खटिएकी माया लुहारलाई मृत अवस्थामा भेटिएको थियो। सो घटनामा १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा भेटिएको थियो। उहाँको उपचार डडेल्धुरा अपस्तालमा भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा घाइते बालिकाले दिएको बयानअनुसार घटनामा सशस्त्र प्रहरी बलमा कार्यरत गाउँकै स्थानीय युवा भरत कोलीको हात रहेको खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार घाइते बालिकाले नाम लिएका आरोपित युवा सशस्त्र प्रहरीमा कार्यरत रहेको खुल्न आएको छ। ती युवाका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार घाँटी काटिएको अवस्थामा बुधबार बेलुकी ४ बजेर १५ मिनेटको समयमा शिवनाथ गाउँपालिका–६ स्थित टेलिफोन टावरछेउमा शव फेलापरेको थियो। सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। 

समाचार स्रोतका अनुसार मृतक २१ वर्षीया माया लुहार भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरीका रूपमा बैतडीको शिवनाथ गाउँपालिका सोल्पलामा खटिनुभएको थियो। मृतक युवती म्यादी प्रहरी रहेको बैतडी प्रहरी प्रमुख प्रेमबहादुर शाहीले पुष्टि गर्नुभयो। स्थानीय समाचार स्रोतका अनुसार हत्याको घटनामा नाम जोडिएका सशस्त्र प्रहरी बल नेपालमा कार्यरत शिवनाथ गाउँपालिका–४ का भरत कोली बिदामा घर आउनुभएको थियो। मायासँग कोलीको राम्रै चिनजान रहेको बताइन्छ। 

म्यादी प्रहरीको समय सकिएपछि घर फर्किने बेला मृतक मायाको फोन भरत कोलीले खोसेर आफूसँगै राखेको खुल्न आएको छ। मङ्गलबार बिहान १० : ०० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा लुगा सिलाउन गएको भनिए पनि माया लुहार फोन लिन र कोलीसँग भेटघाट गर्न घरबाट १५ वर्षीय नेहालाई साथमा लगेर शिवनाथ गएको बुझिएको छ। 

मायाको शव फेलापरेको स्थानमा मङ्गलबार राति आगोसमेत बालेको पाइएको स्थानीयले बताएका छन्। मङ्गलबार बिहान घरबाट लुगा सिलाउन भनेर हिँडेकी युवती घर नफर्केपछि बुधबार आफन्तले प्रहरीमा खबर गरेर खोजी गर्दै जाँदा बुधबार बेलुकी ४: १५ बजे माया मृत अवस्थामा फेलापरेकी हुन् भने नेहा घाइते अवस्थामा भेटिनुभएको थियो। 

घटनाको गहिरो अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रुमख प्रेमबहादुर शाहीले आफैँ घटनास्थलमा खटिएको बताउनुभयो। उहाँका अनुसार आरोपित फरार रहेकाले उहाँको घर पुगेर थप विवरण बुझ्ने काम भइरहेको छ। अनुसन्धानका लागि पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकालगायत मुख्य सडकमा प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ।